
मिथिलाञ्चल सहित तराई–मधेशका विभिन्न जिल्लामा आज अन्नकुट पर्व भव्यताका साथ मनाइँदैछ ।
जनकपुरधामका मठ मन्दिरहरू बिहानैदेखि नै पर्वको तयारीमा व्यस्त देखिएका छन् । अन्नकुट पर्वको मुख्य आकर्षण भगवान रामलाई अर्पण गरिने ५६ प्रकारका खाद्यान्न परिकार हुन् ।


रामानन्दीय वैष्णव संघका वरिष्ठ उपाध्यक्ष तथा सीताकुण्डका महन्थ रामनरेश दासका अनुसार मर्यादा पुरुषोत्तम भगवान् श्रीरामले लङ्कामा विजय प्राप्त गरी फर्कनु भएको खुशीयालीमा पहिलो पटक ५६ प्रकारका व्यञ्जन भोगको रूपमा अर्पण गरियो । यस परम्परालाई निरन्तरता दिँदै आएको हाम्रो मठ मन्दिरहरूमा प्रत्येक वर्ष अन्नकुट पर्व भव्य रूपमा मनाइन्छ ।
जनकपुरधामका प्रमुख मठ मन्दिरहरू जानकी मन्दिर, राममन्दिर, विहार कुण्ड, अग्निकुण्ड तथा सीताकुण्डमा विशेष तयारी गरिएको छ । महन्थ दासले बताएअनुसार साधुसन्त, महन्थ र सर्वसाधारणलाई अर्पित खाद्यान्न प्रसाद स्वरूप वितरण गरिन्छ । यस वर्ष पनि हजारौं भक्तजनहरूलाई प्रसाद वितरण गरिनेछ । नयाँ उत्पादन भएका खाद्यान्न सामाग्री पनि भगवानलाई अर्पण गरिने चलन रहेको छ ।
विश्व शान्ति र मानव कल्याणको कामना गर्दै प्रत्येक वर्ष आयोजना हुने अन्नकुट पर्वमा ठूला राजनैतिक, धार्मिक र सामाजिक व्यक्तित्वहरू समेत उपस्थित भएर भगवानको दर्शन गरी प्रसाद ग्रहण गर्ने गरेका छन् । यस वर्ष पनि क्षेत्रका हजारौं भक्तजनले मठ मन्दिरमा पुगेर अन्नकुटको भव्य उत्सवमा सहभागी हुने तयारी गरेका छन् ।