२०८२ कार्तिक ९, आईतवार ०७:५८

जनकपुरधाममा केराको माग एक्कासी बढेको छ । जनकपुरधामका स्थानीय बजारमा केराको माग अत्यधिक वृद्धि भएपछि भारत, नेपालसहित विभिन्न स्थानबाट केरा ल्याएर कारोबार भइरहेको जनाइएको छ ।

छठ पर्वमा प्रसादका रुपमा केराको आवश्यकता भएकाले यसको माग उल्लेखनीय रुपमा वृद्धि भएको फलफूल व्यवसायीले जनाएका छन् । छठ पर्वमा भगवान् सूर्यलाई अघ्र्य अर्पण गर्न प्रयोग हुने मुख्य प्रसाद ‘केरा’ को घरीको माग जनकपुरधामसहित स्थानीय बजारमा अत्यधिक बढेको केरा व्यापारी जनाएका छन् ।



अहिले स्थानीय महेन्द्रनगर, ढल्केवर, वीरेन्द्रबजार, गोदार, सबैला, बटेश्वर, लक्ष्मीनियाँका बजारमा केराको कारोबार बढेको छ । त्यसैगरी जनकपुरधामलगायत मुख्य बजारदेखि ग्रामीण हाटबजारसम्म अहिले केरा किन्ने ग्राहकको भीड लागेको छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयातमा वृद्धि गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए ।

उनका अनसार यस वर्ष व्यापारीले भारत र अन्य जिल्लाबाट ठूलो परिमाणमा केरा खरिद गरी गोदाममा भण्डारण गरेको बताए । गोदाममा पर्याप्त मात्रामा केरा उपलब्ध भएकाले यसपटक व्रर्तालुलाई केराको अभाव नहुने अध्यक्ष यादवले बताए । केराको माग बढेसँगै मूल्यमा भने वृद्धि भएको छ ।

स्थानीय श्याम साहका अनुसार अहिले स्थानीय बजारमा केराको प्रतिघरी मूल्य रु ६०० सयदेखि रु एक हजारसम्म पुगेको छ, जुन गत वर्षको तुलनामा उल्लेखनीय रूपमा बढी हो । स्थानीय बजारको मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको फलफूल व्यवसायीको भनाइ छ । केरा व्यवसायी संजीव साहले भने, ‘यस वर्ष झण्डै ७२ ट्रक केरा भित्र्याइएको छ ।’

जनकपुरधाममा गोपाल र वंशीभोग जातका केरा सप्तरीको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गोहाटी, बंगाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको व्यवसायी साहले बताए । छठ पर्वसँगै गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको उनले बताए । उनले भने, ‘छठ मनाउने व्रतीको संख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो, बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५/२० ट्रक बढी केरा मगाइएको छ ।’

Comment


Related News

Latest News

Trending News