राष्ट्रिय मुक्ति पार्टी नेपालले छठ पर्वमा दुई दिन राष्ट्रिय विदा दिनुपर्ने माग गरेको छ ।
राष्ट्रिय मुक्ति पार्टीका प्रवक्ता रवीन्द्र कुमार श्रेष्ठले आइतवार विज्ञप्तिजारी गर्दै छठ पर्वको शुभकामना सहित दुई दिन विदाको माग गरेका छन् । चार दिन सम्म मनाइने यस महापर्वमा एक दिन मात्र राष्ट्रिय विदा हुनु स्वदेशवादी दृष्टिले हेर्दा, यो अन्यायपूर्ण व्यवहार रहेको उल्लेख गर्दै रामुपाले नेपाल बहुसांस्कृतिक, बहुलराष्ट्र राज्य रहेको हुँदा सबै संस्कृति, सबै समुदायका आस्था र परम्परालाई समान सम्मान र समान अवसर दिनु नै राष्ट्रिय एकताको वास्तविक पहिचान हुने जिकिर गरेका छ ।


रामुपाले विज्ञप्तिमा भनेको छ ,‘ हामी माग गर्दछौं छठ पर्वका मुख्य दुई दिन (सन्ध्या अघ्र्य र बिहानको अघ्र्यका दिन) राष्ट्रिय विदाको रूपमा मान्यता दिइयोस्।यो केवल मधेशका जनताको माग होइन, सम्पूर्ण नेपालीको सांस्कृतिक सम्मानको सवाल हो ।’ प्रकृति, जल, सूर्य र मातृत्वप्रति कृतज्ञता व्यक्त गर्ने महान् पर्व छठ केवल धार्मिक अनुष्ठान मात्र नभई प्रकृति–संस्कृति र मानवजीवनबीचको गहिरो संवाद रहेको जनाउदै रामुपाले विज्ञप्तिमा भनेको छ ,‘ जलाशय, नदी, सूर्य, र मातृशक्ति प्रति सम्मानको प्रतीक यो पर्व हजारौं वर्षदेखि मधेशको सभ्यता र संस्कृति भित्रको जीवनदर्शन हो, जहाँ श्रम र श्रद्धा, प्रकृति र संस्कृति, साधना र सामूहिकता एकाकार हुन्छन् ।’

