आस्थाको महापर्व छठ पर्वको दोस्रो दिन खरना समापन भएसंगै समाचकेवा पर्व पनि शुरु भएको छ ।
छठ पर्व तेस्रो दिन व्रतालुले सोमबार अस्ताउन लागेको सूर्यलाई अर्घ दिँदै छन् । छठको दोश्रो दिन खरना सम्पन्न भएसंगै सोमबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइ पूजाआजा गर्ने परम्परा छ ।
सूर्यलाई ‘आदि’ देवता पनि भनिन्छ । मानवलाई उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधिबाट जोगाउने सूर्य नै भएको पाइन्छ । छठ पर्व विशेष गरी कृषकहरुको पर्वको रुपमा रहेको छ । यस पर्वमा सूर्यको प्रकाश र जलको महत्वलाई विशेष रुपमा जोडेको देखिन्छ ।
सूर्य र जलकै कारणले मानव जीवनमा उज्यालो आएको र मानवले यही सूर्य र जलकै कारणले फलफूल, तरकारीदेखि अन्नवाली उब्जानीमा महत्वपूर्ण भूमिका रहेकाले पनि समानता, भेदभावरहीत, छुवाछुतरहीत सबै एकापसमा मिलेर सूर्यको आराधनासंगै छठि मैयाको पूजाअर्चना गर्ने परम्परा रहेको साहित्यकार तथा संस्कृतविद् राजेन्द्र विमलले बताए । उनले छठ पर्व प्रकृतिको पूजनको रुपमा रहेको बताए ।
त्यस्तै मिथिलाञ्चलसंगै तराई मधेशसहितका १५ दिनसम्म मनाइने समाचकेवा पर्व आइतबारदेखि शुरु भएको छ । दिदीबहिनी तथा दाजुभाइबीच स्नेह, माया र प्रेमको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले प्रत्येक वर्ष कार्तिक शुक्लपक्ष पञ्चमी तिथिका दिनदेखि शुरु भएर पूर्णिमासम्म चल्ने यस पर्वमा दिदीबहिनीले दाजुभाइको सौर्य तथा ऐश्वर्यको गाथा परम्परागत गीत मार्फत अभिव्यक्त गर्ने गरेका छन् ।
प्रत्येक साझ दिदीबहिनीले समूहमा भेला भएर गाउँ तथा नगरको चोकमा भेला भएर सामूहिक रुपमा गीत गाएर समाचकेवा पर्व मनाउने गरेका छन् । यसमा समा, चकेवा, बुन्दावन, चुक्ला, चुक्ली सहितका अन्य पंक्षीहरुको माटोको प्रतिमा बनाउने चलन रहेको छ । डालामा राखेर प्रत्येक दिन दियो बाली समाचकेवा पर्व खेल्ने चलन रहेको छ ।


