२०८२ कार्तिक १०, सोमबार ०५:३०

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मुलुक गम्भीर अवस्थामा रहेकोले अहिले मुलुकको हितको लागि सबैले आ–आफ्ना ठाउँबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

राजविराजमा आइतबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष राउतले अहिले देश गम्भीर अवस्थाबाट गुज्रिरहेको बताए । उनले अहिलेको अवस्थामा सबैको भूमिका महत्वपूर्ण रहेकाले देशका हरेक सचेत नागरिकले जिम्मेवार भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । संविधान संशोधन गरेर निर्वाचन गरे मात्र नयाँ परिवर्तनको कल्पना गर्न सकिने भए पनि यस्तै अवस्थामा निर्वाचन भयो भने राज्यको सत्ता यथावत् अवस्था रहने सम्भावना बढी रहेको उनको बुझाइ छ ।

अध्यक्ष राउतले भने, ‘जनताको बलिदानीबाट आएको संविधान र संघीयतामा कुनै पनि अवस्थामा प्रहार गर्नुहुँदैन । संविधानमा भएको कमीकमजोरी त्रुटि सच्याउन आवश्यक छ तर खारेज गर्नुहुँदैन ।’ जेन– जी आन्दोलन जनताको राज्य सत्ता प्रतिको आक्रोशको परिणाम भए पनि यस आन्दोलनबाट राष्ट्रले ठूलो क्षति व्यहोर्नु परेको उनले बताए ।

उनले अहिलेको अवस्थामा विशेषगरी युवालाई मार्गदर्शन गर्नुपर्ने अहिलेको प्रमुख जिम्मेवारी भएको बताए । उनले देशमा एक समुदायले अर्को समुदायमा द्वन्द्व गर्ने, एक अर्कामाथि प्रहार गर्ने जस्ता विकृति देशमा बढ्दै गएकोले यस्ता गतिविधिहरूप्रति सधैं सचेत भएर अघि बढ्नुपर्ने बताए ।

अध्यक्ष राउतले भने, ‘हाम्रो देशको सरकार पटक पटक ढल्नुको मुख्य कारण वैदेशिक प्रभाव हो । यहाँको सरकार कमजोर भएकोले वैदेशिक प्रभावमा सरकार ढल्दै आएको छ । सरकार दिगो नभएसम्म देशको विकास द्रुत गतिमा हुने सम्भावना कम भएको छ। ’ अध्यक्ष राउतले भने, ‘ आगामी हाम्रो पार्टीको योजना स्वायत्तताको रहेकाले प्रदेशको आफ्नै प्रहरी र आफ्नो अधिकार हुनुपर्छ ।’

उक्त कार्यक्रममा जनमतको संसदीय दलको नेता महेशप्रसाद यादवले संगठन विभागको संयोजक जयकान्त राउतलगायतकाहरुको सहभागिता रहेको थियो । प्रेस जनमत संघका केन्द्रीय संयोजक अवधेश झाको अध्यक्षतामा पत्रकार भेटघाट कार्यक्रम भएको थियो ।

Comment


Related News

Latest News

Trending News