२०८२ कार्तिक १२, बुधबार १७:२०

रौतहटको कटहरिया नगरपालिकामा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरू पुनः आन्दोलनमा उत्रिएका छन्। लामो समयदेखि बक्यौता तलब र सेवा सुविधा नपाएको भन्दै कर्मचारीहरुले बुधबारदेखि नगरपालिका कार्यालयसहित वडा १ देखि ९ सम्मका सम्पूर्ण वडा कार्यालयमा दोस्रो पटक तालाबन्दी गरेका हुन्।

यसअघि पनि दिपावली र छठ पर्व अगावै कर्मचारीहरूले यस्तै मागसहित तालाबन्दी गरेका थिए। नगरप्रमुख अजय प्रकाश जयसवालले छठ भित्रै सम्पूर्ण तलब भुक्तानी गर्ने आश्वासन दिएपछि तालाबन्दी फुकुवा गरिएको थियो। तर छठ सकिएको दुई साता नबित्दै वाचा कार्यान्वयन नभएपछि कर्मचारीहरू पुनः आन्दोलनमा उत्रिएका हुन्।



वाचा पूरा नगरेको आरोप

कर्मचारीहरूले नगरप्रमुख अजय प्रकाश जैसवाल र प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीले पटक–पटक लिखित र मौखिक आश्वासन दिए पनि कार्यान्वयन नगरेको आरोप लगाएका छन्। कटहरिया वडा ८ का कर्मचारी मुकुन्द यादवका अनुसार, सबै वडाका कर्मचारीहरूले सामूहिक रूपमा तालाबन्दी गर्दै कार्यालयका चाबी आ–आफ्नो जिम्मामा राखेका छन्। त्यस्तै, वडा १ का करार कर्मचारी मुकेश कुशवाहाले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

नगरप्रमुख अजय प्रकाश जयसवालले केही दिनअघि सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै, “तिहारअघि नै करार कर्मचारीहरूको समस्या समाधान गरिनेछ,” बताएका थिए। उनका अनुसार, कर्मचारीहरूले आवश्यक कागजात बुझाएपछि तलब वितरण प्रक्रिया अघि बढाइने भनिए पनि भुक्तानी अझै भएको छैन।

वडा र प्रशासनबीच मतभेद

वडा ४ का अध्यक्ष चन्दन कुशवाहाले सबै वडा कार्यालयमा तालाबन्दी भएको पुष्टि गर्दै भने, “कर्मचारीहरूको तलब सिफारिस हाम्रो जिम्मेवारीभित्र पर्छ, तर अन्तिम निर्णय मेयर र प्रमुख प्रशासकीय अधिकृतको जिम्मामा छ।”

यसैबीच, योजना शाखा प्रमुख रामनरेश यादवले प्रमुख प्रशासकिय अधिकृत नेपाली संग फोन सम्बाद गरेपछि आगामी तीन दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गरेर तलब पठाइने बताएका छन्। तर कर्मचारीहरूले भने पटक–पटक यस्तै आश्वासन दिइए पनि कार्यान्वयन नहुँदा अब विश्वास गर्न गाह्रो भएको बताएका छन्।

स्थानीय सरोकारवालाहरूका अनुसार, कटहरिया नगरपालिकामा दोहोरिँदै आएको कर्मचारी आन्दोलन स्थानीय शासन प्रणालीमा देखिएको वित्तीय अनुशासनको कमी र प्रशासनिक समन्वयको अभावको परिणाम हो।

यदि समस्या तत्काल समाधान नगरे, नगरपालिका र वडा कार्यालयका सेवा कार्य ठप्प हुने र स्थानीय नागरिकले प्रत्यक्ष असर भोग्नुपर्ने चेतावनी कर्मचारीहरूले दिएका छन्।

Comment


Related News

Latest News

Trending News