मधेश प्रदेशमा ‘मोन्था’ नामक समुद्री आँधीको प्रत्यक्ष प्रभाव पर्ने सम्भावना बढेसँगै प्रदेश सरकारले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।
मुख्यमन्त्री जितेन्द्र सोनलको अध्यक्षतामा बुधवार जनकपुरस्थित गृह, सञ्चार तथा कानून मन्त्रालयमा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले प्रदेशभरि तयारी र सावधानीका उपायहरू तत्काल लागू गर्न निर्देशन दिएको छ ।

बैठकमा प्रस्तुत प्रारम्भिक प्रतिवेदनअनुसार, भारतको बंगालको खाडी हुँदै आउने यो समुद्री आँधी भोली दिउँसो १२ बजेदेखि मधेश प्रदेशका विभिन्न जिल्लामा प्रवेश गर्ने अनुमान गरिएको छ ।
यसले बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी— आठवटै जिल्लामा असर पार्न सक्ने चेतावनी दिइएको छ । मुख्यमन्त्री सोनलले बैठकपछि पत्रकारमार्फत प्रदेशवासीलाई अपिल गर्दै भने, “सम्भावित जोखिमलाई हल्का नलिनुहोस् ।
नदी, खोलानाला र तटीय क्षेत्र नजिक नजानुहोस् । प्रदेश सरकार आवश्यक उद्धार, राहत र सुरक्षा व्यवस्थाका लागि चौवटै सुरक्षा निकाय तयार अवस्थामा राखेको छ । बैठकले रातो, विगही, लखनदेही, बागमती, कमला र सप्तकोशी नदीहरूको जलस्तर बढ्ने खतरा रहेकाले आसपासका बस्तीहरूलाई सचेत रहन आग्रह गरेको छ ।
सम्भावित विपद् आइपरेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र राष्ट्रिय अनुसन्धान विभागलाई तत्काल परिचालन गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।
मुख्यमन्त्री सोनलले स्थानीय तह, युवा समूह, स्वयंसेवक र समाजका विभिन्न संघ–संस्थाहरूसँग समन्वय गर्दै विपद् न्यूनीकरणमा सहयोग गर्न आह्वान गरे ।- “विपद् आउँदा मात्रै होइन, अघि नै तयारी गरेर जोखिम कम गर्नुपर्छ । सरकार जनताको सुरक्षाप्रति पूर्ण प्रतिबद्ध छ । बैठकमा विभिन्न मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका प्रमुखहरू र विपद् व्यवस्थापन विज्ञहरूको उपस्थिति थियो ।

