२०८२ कार्तिक १४, शुक्रबार ०८:१०

मधेश प्रदेश सभा सदस्य किरण कुमारी साह पारिवारिक विवादमा मुछिएकी छन् । उनीमाथि सासू–ससुरालाई घरबाट निकाला गरी घरजग्गा कब्जा गरेको आरोप लगाइएको छ ।

सप्तरीको राजविराजका ८० वर्षीय ससुरा देवनारायण प्रसाद साह र सासू शान्तिदेवीले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गरेपछि बुहारी रहेकी प्रदेश सांसद किरणकुमारी साह र छोरा इञ्जिनियर विनोद साहमाथि शारीरिक तथा मानसिक दुव्र्यवहारको आरोप लगाए । वृद्ध देवनारायण साहले भिडियोमा भनेका छन्, ‘मैले आफ्नो जीवनको सम्पूर्ण मेहनत लगानी गरेर यो घर बनाएको हुँ, तर अहिले बुहारी किरण कुमारी साह र छोरा विनोदले मलाई घरबाट निकाली दिए ।’ देवनारायण साहले जनाए अनुसार गत असोज २० गते मन्दिर गएको बेला घरको दराज फोडेर नागरिकता, जग्गा र घरसम्बन्धी कागजात चोरी गरिएको थियो ।

सोधपुछ गर्दा उल्टै आफू र श्रीमतीलाई कुटपिट गरी घरबाट निकालिएको उनको दाबी छ । त्यस्तै गत असोज २२ गते आफूले जिल्ला प्रशासन कार्यालय सप्तरीमा औपचारिक उजुरी दर्ता गराएको देवनारायणले बताए । कार्तिक २ गते पुनः आफूमाथि कुटपिट भएको आरोप उनले छोरा– बुहारीमाथि लगाएका छन् ।

देवनारायणले बुहारी किरण कुमारी साहमाथि पदको दुरुपयोग गरी प्रहरी र प्रशासनमा आफ्नो प्रभाव जमाउने प्रयास गरेको आरोपसमेत लगाए । उनले सार्वजनिक गरेको भिडियोमा भनेका छन्, ‘मैले उनलाई पढाएर वकिल बनाएको हुँ, तर अहिले उनी मलाई सडकमा ल्याउने प्रयास गर्दै छिन् ।’ जनता समाजवादी पार्टी (जसपा) नेपालकी समानुपातिक कोटाकी प्रदेश सांसद साहले आफूमाथि लगाइएका आरोप निराधार रहेको दाबी गरिन् ।

आफूमाथि नियोजित रूपमा चरित्र हत्या गर्ने अभियान चलाइएको उनले बताइन् । उनका अनुसार पारिवारमा हुने सामान्य झगडालाई राजनीतिक रंग दिइएको आरोप लगाइन् । सांसद साहले भनिन्, ‘यो मेरो राजनीतिक छवि बिगार्ने उद्देश्यले रचिएको षड्यन्त्र हो, चाडपर्वको बेलामा ससुरा र श्रीमानबीच सामान्य विवाद भएको थियो, तर त्यसलाई अनावश्यक रूपमा ठूलो बनाइएको छ ।’ सांसद साहले आफ्नी नन्द माधुरी साह जनमत पार्टीसंग आबद्ध नेतृ रहेको र यही राजनीतिक प्रतिस्पर्धाले पारिवारिक विवादलाई सार्वजनिक रूपमा तानिएको उनले दाबी गरिन् ।

आफ्नो सासू–ससुरालाई नन्द माधुरीले उक्साएको जिकिर गरिन् । सांसद साहले ससुरा–सासूलाई आफूले घरबाट ननिकालेकी दाबी गरिन् । बरु उनीहरू आफैँ छोरीको घरमा गएको उनको जिकिर छ । ‘हामीले बारम्बार घर फर्किन आग्रह गरेका छौँ, तर उहाँहरू आउनुभएको छैन,’ उनले भनिन् । कुटपिटसम्बन्धी आरोप खण्डन गर्दै सांसद साहले भनिन्, ‘मेरो श्रीमानले हातपात गरेको होइन, बरु ससुराले मेरो श्रीमानलाई हातपात गर्न खोज्दा मैले बचाउ गरेकी हुँ ।’ जिल्ला प्रशासन कार्यालय सप्तरीले देवनारायण साहको उजुरी दर्ता भइसकेको जनाएको छ ।

स्थानीय प्रशासनले दुवै पक्षलाई छलफलका लागि बोलाउने तयारी गरिरहेको छ । जसपा नेपाल र जनमत पार्टीबीचको पुरानो झगडाले यस घटनामा पनि प्रश्रय पाएको भन्दै कतिपयले यस विवादलाई व्यक्तिगत मात्र नभइ पारिवारिक राजनीतिक रुप लिएको बताउन थालिएको छ ।

Comment


Related News

Latest News

Trending News