अरब सागर हुँदै बंगालको खाडीबाट उत्पन्न ‘मोन्था’ चक्रवातको प्रभावले देशभर वर्षा हुन थालेपछि मधेश प्रदेशसहित देशभरका किसान अहिले चिन्तित छन् ।
बुधबारदेखि शुरु भएको सिमसिमे वर्षा बिहीबारसम्म बढ्दै गएको छ भने शुक्रबार पनि पानी पर्ने क्रम रोकिएको छैन । दिनभर घाम नदेखिएपछि मधेश प्रदेशका किसान कृषि बालीमा पर्ने प्रभावलाई लिएर चिन्तित छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कार्तिके वर्षाले समग्र कृषि क्षेत्रमा प्रतिकूल असर पार्ने सम्भावना रहेको जनाएको छ ।

अहिले पाक्ने र काट्ने क्रममा रहेको धान बालीमा सबैभन्दा बढी क्षति पुग्ने देखिएको छ । बाला लाग्दै गरेको र फूल फुल्ने अवस्थाका बासमती र कमोद (करियाकामत) जातका धानमा क्षति पुगेको छ । वर्षाका कारण आलु, तरकारीका नर्सरी, दाल, तेलहनबाली र उखु खेतीसमेत प्रभावित भएको छ ।
अहिले हिउँदे बाली लगाउने र आलु रोप्ने मौसम भएकाले बढी पानीले भर्खरै रोपिएका बाली सड्ने र जमिन चिसिन सक्ने भएकाले समयमै हिउँदे बाली लगाउन समस्या हुने छ । यसअघि असोजमा परेको अविरल वर्षाले महोत्तरीमा एक हजार २२५ हेक्टरभन्दा बढी कृषि भूमि डुबानमा पर्दा करिब ९६ करोड ५८ लाख रुपैयाँ बराबरका ५७ हजार मेट्रिक टन बाली नष्ट भएको थियो । त्यस बेला मात्रै १० हजार हेक्टरभन्दा बढी धानबाली पूर्ण रूपमा बगाएको जनाइएको छ ।
मौसमविद्का अनुसार मोन्था चक्रवातको प्रभाव आगामी शनिबारसम्म रहने अनुमान गरिएको छ । सम्भावित क्षति न्यूनीकरणका लागि खेतमा पानी निकासको व्यवस्था मिलाउन र पाकेका बाली सक्दो छिटो भित्र्याउन किसानलाई आग्रह गरिएको छ । बेमौसमी वर्षा शुरु भएसँगै मधेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा जिल्लामा पाकेको धान काट्ने क्रम रोकिएको छ । यहाँ सोमबारदेखि नै मौसम धुम्मिएर घाम नलागेकाले किसानले धान काट्न छाडेका छन् ।
असारमा धान रोप्ने बेला किसानहरुले चर्को खडेरीको मार खेपेका थिए । यो समय धान भित्र्याउने समय भए पनि अविरल झरीका कारण वर्षभरिको मेहनत खेर जाने चिन्ताले किसानलाई सताएको स्थानीय किसान रामउद्गार महतोले दुखेसो पोखे । यहाँका किसानहरूले यस वर्ष खडेरी, डुबान र बेमौसमी वर्षाको चक्रवातमा फसेर धान खेतीमा ठूलो नोक्सानी व्यहोर्नुपरेको छ ।
धान रोप्ने बेलाको लामो खडेरी, बिचमा केही स्थानमा भएको डुबान र पाकेको धान भित्र्याउने समयमा परेको वर्षाले यसपाली किसानलाई निकै चिन्तित बनाएको छ । यस हिसाबले यस वर्ष किसान चक्रव्यूहमा फसेका छन् । खाद्य व्यवस्था विभागले समयमै र उचित मूल्यमा धान नकिन्दा र सरकारसँग स्पष्ट तथ्यांक र योजना अभावले समस्या झनै गहिरिएको छ । बेमौसमी वर्षाका कारण वर्षभरिको मेहनत खेर जाने चिन्ता बढेको स्थानीय किसान महतोले बताए ।
मधेशको ८ वटै जिल्लाका अधिकांश क्षेत्रमा खेतमा पानी जम्दा काट्न तयारी गरिएको धान भिजेर नष्ट भएको छ । कतिपय ठाउँमा ढलेको धान उठाउन नसक्दा किसानहरू निराश भएका छन् । मौसम प्रतिकूल हुने कुरा थाहा भएपनि पानी पर्ने बेलासम्म भित्र्याइसक्ने आशले उनले धान काटेकी थिइन् । धान झार्नका लागि मुठा बाँध्ने काम धमाधम भइरहेको बेला पानी परेर सबै भिजाएको छ ।
धानबाली वैज्ञानिक डा. रामवरण यादवले जनाए अनुसार यस वर्ष धान उत्पादनमा २० देखि २५ प्रतिशतसम्म कमी आउने अनुमान गरिएको छ । विशेषगरी पहाडी क्षेत्रमा धेरै असर देखिएको छ । आधुनिक जातका धानमा डर्मेन्सी (सुषुप्त अवस्था) नहुने भएकाले यदि वर्षा २–३ दिनसम्म जारी रहेमा बोटमा बाँकी रहेको धान खेतमै उम्रिन सक्ने चिन्ता पनि उनले व्यक्त गरे ।
कृषि विभागका प्रवक्ता तिलकराज चौलागाईंले बताए अनुसार गत वर्षको तुलनामा यस वर्ष धान खेती गरिएको कुल क्षेत्रफलमा करिब ३.५ प्रतिशतले कमी आएको छ । यस्तै समग्रमा धान उत्पादनमा ५ देखि ७ प्रतिशतसम्म कमी आउने अनुमान छ । गत वर्ष नेपालमा करिब ५७ लाख मेट्रिक टन धान उत्पादन भएको थियो ।
तर यो वर्ष २ लाख ५० हजारदेखि ३ लाख मेट्रिक टन हाराहारीमा घट्ने अनुमान गरिएको चौलागाईं बताउँछन् । उनका अनुसार यो तथ्यांक रोपाइँ भएको आधारमा मात्रै हो । अहिले धान भित्र्याउने बेलामा पानी परेकाले झण्डै २७ प्रतिशत धान उत्पादनमा कमी हुनसक्ने डा. यादव बताउँछन् ।

