बारामा डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत विद्युत् उपभोग गरेका ३ ठुला उद्योगले महसुल भुक्तान गर्नका लागि जगदम्बा स्टिलले आनाकानी गरिरहेको छ ।
सो उद्योगका मजदुरहरू आफ्नो रोजीरोटी खोज्न उद्योगले जानाजान विद्युत् महसुल विवादलाई बल्झाएको आरोप लागेको छ । डेडिकेटेड र टंकलाइन विद्युत् सुविधा उपभोग गरेका हुलास स्टिल इण्डष्ट्रिज, अशोक स्टिल, हामा आइरनले असोज ३० गते नै विद्युत महसुलको किस्ता बुझाउन शुरु गरेका हुन् भने जगदम्बा स्टिलले बक्यौता रकम बुझाउन आनाकानी गर्दै आएको छ ।
बक्यौता नबुझाएपछि नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रले कार्तिक ४ गते जगदम्बा स्टिलको ६६ हजार केभी विद्युत् प्रसारण लाइन काटिएको छ । सो उद्योगले बक्यौता रकम भुक्तान गर्न कुनै चासो नदेखाएको र सम्पर्कमा समेत नआएको विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रले जनाएको छ ।
२०७२ पुसदेखि २०७५ पुससम्म सिमरास्थित जगदम्बा स्टिलले डेडिकेटेड र ट्रंक लाइन उपभोग गरेबापत विद्युत् प्राधिकरणलाई १ अर्ब ६० करोड रुपैयाँ महसुल बुझाउन बाँकी छ । अखिल नेपाल टे«ड युनियन महासंघ, जगदम्बा स्टिल मजदुर युनियनका सचिव दिपक कार्कीले प्राधिकरणले विद्युत् लाइन काटेपछि फलाम गलाउने ठुला भट्टी बन्द भए पनि साना मेसिन सञ्चालनमै रहेको जनाएका छन् । उनले अन्य उद्योगले महसुल बुझाउँदा जगदम्बा स्टिलले मात्रै बलमिच्चाइँ गरेर राज्यको कानुन उल्लङ्घन गर्न खोज्नु गलत भएको टिप्पणी गरे ।
जगदम्बा स्टिलले उद्योग सञ्चालनका लागि ३५ देखि ४० मेगावाट विद्युत् उपभोग गर्दछ । उद्योगले ६६ हजार केभी, ११ हजार केभी र अन्य साना मेगावाटका विद्युत् उपभोग गर्दै आए । जगदम्बा स्टिलभित्र ९ वटा ठुला फलाम पगाल्ने भट्टी छन् । ६६ हजार केभीको विद्युत् कटौती भएपछि यी भट्टी अहिले बन्द छन् । जगदम्बा स्टिलमा मजदुर र कर्मचारी गरेर २ हजारभन्दा बढी कार्यरत छन् ।
विद्युत् महसुलको बहाना बनाएरै उद्योगले २५ वर्षदेखि दिँदै आएको बोनस यस वर्षको चाडपर्वमा कटौती गरेको मजदुर हरूको गुनासो छ । सहसचिव अधिकारीले सरकारसँगको लडाइँमा उद्योग प्रशासनले मजदुर हरूको रोजीरोटी खोस्ने काम गर्न नहुने बताए । यसअघि कोभिड– १९ मा पनि जगदम्बा स्टिलमा कार्यरत धेरै मजदुरको रोजगारी गुमेको थियो ।
जगदम्बाले डन्डी, पाइप, जस्तापाता, सिमेन्ट लगायतका निर्माणजन्य सामग्री उत्पादन गर्दछ । बारा–पर्सा औद्योगिक करिडोरमा रहेका उद्योगमध्ये जगदम्बा इन्टरप्राइजेजपछि सबैभन्दा धेरै विद्युत महसुल बुझाउनेमा जगदम्बा स्टिल पर्दछ । जगदम्बा स्टिलले मासिक १३ देखि १५ करोडसम्म विद्युत् महसुल बुझाउँछ ।
विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख इन्जिनियर रुमेश रुपाखेतीले सिमरा वितरण केन्द्र अन्तर्गत डेडिकेटेड र ट्रंक लाइन उपभोग गर्ने ५ वटा उद्योगमध्ये सूर्य नेपालले सबै महसुल बुझाइसकेको र अन्य ३ उद्योगले पनि पहिलो किस्ताको रकम बुझाएको बताए । २०७२ पुसदेखि २०७५ वैशाखसम्म डेडिकेटेड ट्रंक लाइन उपभोग गर्ने उद्योगहरूसँग बाँकी महसुल लिने निर्णय गरेको थियो ।
हुलास स्टिल, जगदम्बा स्टिल, हामा आइरन र अशोक स्टिलले महसुल बुझाउन बाँकी रहेकोमा जगदम्बाबाहेक अन्य उद्योगले किस्ताबन्दीमा रकम बुझाउन थालेको प्राधिकरणले जनाएको छ । हामा आइरन एण्ड स्टिल इन्डस्ट्रिजले डेडिकेटेड तथा ट्रंक लाइन उपभोग गरेबापत ५ करोड ८५ लाख रुपैयाँमध्ये पहिलो किस्ताबापत २० लाख ८९ हजार रुपैयाँ बुझाएको छ ।
हुलास स्टिलले तिर्न बाँकी १४ करोड १२ लाख रुपैयाँलाई २८ किस्तामा तिर्ने प्राधिकरणसँग सहमति गरेको र ५० लाख ४३ हजार किस्ता तिरेको छ । अशोक स्टिलले बुझाउनुपर्ने बाँकी महसुल १७ करोड ५८ लाख रुपैयाँमध्ये पहिलो किस्ताबापत ६३ लाख रुपैयाँ बुझाएको प्राधिकरणका सिमरा केन्द्र प्रमुख रुमेश रुपाखेतीले जनाए ।
प्राधिकरणले जगदम्बा स्टिलमा विद्युतको माग ३५ मेगावाट भएकाले ११ हजार केभीको प्रसारण लाइनबाट भट्टी सञ्चालन नहुने जनाएको छ । प्रमुख रुपाखेतीले अहिलेकै अवस्थामा उद्योगका ११ हजार केभी विद्युतबाट उद्योगका १० प्रतिशतमात्रै प्लान्ट चल्न सक्ने टिप्पणी गरे । २८ किस्तामा बुझाउँदा उद्योगले पहिलो किस्ताबापत करिब ५ करोड ७५ लाख रुपैयाँ बुझाउनुपर्ने प्राधिकरणले जनाएको छ ।



