मधेश प्रदेशका आठ वटै जिल्लाका आठजना उत्कृष्ट किसानलाई मधेश प्रदेश सरकारले नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको छ ।
भूमि व्यवस्था, कृषि विकास निर्देशनालय मधेश प्रदेशद्वारा आयोजित कार्यक्रममा किसानहरूलाई सम्मान गरिएको छ । विश्व खाद्य दिवसका अवसरमा ‘स्वच्छ खाना र सुखद् भविष्यका लागि हातेमालो’ भन्ने नारा सहित आयोजना गरिएको समारोहमा विभिन्न जिल्लाका कृषकहरूलाई उनीहरूको योगदान र उब्जनीमा उल्लेखनीय उपलब्धिका आधारमा सम्मान गरिएको छ ।

उक्त समारोहमा सम्मानित किसानहरूमा बाराको जितपुरसिमरा–१८ का मकै किसान बिनिता गौतम, पर्साको बिन्दवासिनी–४ का च्याउ किसान सुजित कुमार चौरसिया, सर्लाहीको बागमती नगरपालिका–११ का मौरी किसान मणि प्रसाद पाण्डे, धनुषाको मिथिला नगरपालिका–८ का तरकारी किसान छविलाल महतो, रौतहटका कटहरिया नगरपालिका–५ का धान किसान रामसिंह राय यादव, सिरहा नगरपालिका–२ का खाद्यान्न बीउ उत्पादक किसान बलराम यादव, महोत्तरी पिपरा–४ का दलहन किसान अरुण ठाकुर र सप्तरी अग्नीसाइर कृष्णासवरण–२ का किसान महाविर प्रसाद चौधरी रहेका छन् ।
किसानहरूलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहालले नगद २५ हजार, दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए । सचिव दाहालले कार्यक्रममा मधेश प्रदेशलाई मात्र अन्नको भण्डार नभएर खाध्यान्नको प्रमुख केन्द्रको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले भने, ‘मधेशको उब्जनी वृद्धि आजको आवश्यकता हो । यदि हामीले स्थानीय उत्पादनलाई बढाएर मात्रै देशभरका नागरिकलाई पर्याप्त खाध्यान्न उपलब्ध गराउन सक्छौँ भने समृद्धि दिगो हुनेछ । यसका लागि सरकार र किसान मिलेर काम गर्नु आवश्यक छ ।’ सो कार्यक्रम निर्देशनालयका प्रमुख जितेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।
मन्त्रालयका महाशाखा प्रमुख डा. सरोज चौधरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रमुख विमल दाहाल, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना धनुषाका प्रमुख रविलला शर्मा लगायतले खाद्य सुरक्षा र उत्पादन प्रवद्र्धनसम्बन्धी जानकारी प्रस्तुत गरे ।

