नेपालमा तीनदिनदेखी लगातार वर्षा गराएको ‘मोन्था’ चक्रवात नेपालबाट बाहिरिएको छ । आज भने पश्चिमी वायु र अरव सागरमा बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भएको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज वर्षा गराएको प्रणालीको असर बेलुकासम्म हट्ने छ । भोलिदेखि मौसम प्रायः खुल्ने भए पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै ठाउँमा भोलि पनि सामान्य वर्षा हुन सक्छ । पछिल्लो एक घण्टामा वागमती प्रदेशका पूर्वतर्फका केही ठाउँमा सामान्य वर्षा भए पनि सबैजसो ठाउँमा वर्षा रोकिएको छ ।

मौसमविद्का अनुसार भोलिदेखि मङ्गलवारसमम धेरैजसो ठाउँका किसानले धान भित्राउन सक्नेछन् । तर अरव सागरबाट सक्रिय अर्को प्रणाली आउँदै गरेकोले मङ्गलवार बेलुकादेखि पश्चिम नेपालमा बदली हुन सक्ने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सह–प्राध्यापक एवम् मौसमविद् विनोद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अलि कमजोर रहे पनि त्यसले पश्चिम नेपाल हुँदै काठमाण्डौसम्म सामान्य वर्षा गराउने सम्भावना रहन्छ ।
बुधवार हिमाली भेगमा हिमपातको सम्भावना छ । त्यसअघि हिमाली क्षेत्रको पदयात्रामा नजान मौसमविद् पोख्रेलको सुझाव छ । नेपालमा हिउँदयाममा भू–मध्य सागरबाट आउने वायुले वर्षा गराउँछ । भू–मध्य सागरबाट आउने वायु इरान, अफगानिस्तान, पाकिस्तान र भारतको उत्तराखण्ड हुँदै नेपालको सुदूरपश्चिमबाट भित्रिन्छ ।
यसले विशेष गरी हिमाली क्षेत्रमा हिउँ पार्ने गरेको गरेको छ । यसपाली भारतको मुम्बईनजिकै अरब सागरमा न्यूनचापीय प्रणाली विकसित हुँदा त्यहाँबाट पनि वर्षा बोकेको बादल गुजरात हुँदै नेपाल भित्रिएको हो । ठूलो वर्षा गराएको मोन्था चक्रवात भने हिन्द महासागरको उत्तरपूर्वी भाग बङ्गालको खाडीमा विकसित भएको हो ।
हिउँदयाममा नेपालमा भू–मध्य सागरसँगै बेलाबेला अरव सागरमा विकसित न्यून चापीय प्रणालीको असर पनि देखिन्छ । तर हिउँद याममा बङ्गालको खाडीबाट भने विरलैमात्र वायु आउने गरेको छ । मनसुनमा भने बङ्गालको खाडी हुँदै पानी पार्ने वायु नेपालमा आउने गरेको छ ।

