मुख्यमन्त्री जितेन्द्र सोनलले मधेश प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने भन्दै प्रतिवद्धता व्यक्त गरेका छन् ।
बाराको सिमरामा शनिबार आयोजित सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २३ औं साधारणसभा तथा अधिवेशनमा बोल्दै उनले मधेश प्रदेशलाई भ्रष्टाचारमुक्त बनाइ सुशासन स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मुख्यमन्त्री सोनलले नागरिकको काँधमा जीविकोपार्जन गर्ने, सामाजिक सौहार्द कायम गर्ने, साथै देशको उन्नति गर्ने दोहोरो जिम्मेवारी रहेको बताए । उनले मुलुक अहिले अत्यन्तै ‘तरल अवस्थामा’ रहेको स्वीकार गरे । देशमा कुशासन, व्यथिति र भ्रष्टाचार बढेको भन्दै अहिले सम्पूर्ण नेपालीको ध्यान केन्द्रित भएको र जेन– जी समूहका युवाहरूले समेत आन्दोलनको माध्यमबाट विचार व्यक्त गरिरहेको अवस्था रहेको उनले बताए ।
मुख्यमन्त्री सोनलले प्रदेश सरकार जनताको काँधमा काँध मिलाएर बेथितिलाई समाप्त पार्दै कुशासनलाई समाप्त पार्न तयार रहेको स्पष्ट पारे । उनले सरकार सुशासनको दिशामा पाइलाहरू अगाडि बढाउने र भ्रष्टाचार एवं भ्रष्टाचारीलाई समाप्त गर्दै भ्रष्टाचारमुक्त समाज र राज्य निर्माण गर्न तयार रहेको बताए । उनले देशमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै दुनियाँका गरिब र निमुखा जनताको लागि सबभन्दा राम्रो व्यवस्था भएकोमा जोड दिए । उनले संविधान, नेतृत्व र ब्युरोक्रेसीमा कमजोरीहरू रहेको स्वीकार गर्दै ती सबलाई करेक्सन गर्दै जानुपर्ने आवश्यकता रहेको बताए ।

