निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई आधिकारिकता प्रदान गरेको छ ।
आइतबार आयोगले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई राजनीतिक दल दर्ता प्रमाणपत्र प्रदान गरेको हो । आयोगमा २ सय ४ नंवरमा दर्ता भएको श्रम संस्कृति पार्टीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालीका वडा नंवर ४ मा रहने प्रमाणपत्रमा उल्लेख छ ।
आफ्नो दलले औपचारिक मान्यता पाएपछि साम्पाङले देश बिकासका लागि श्रमको परिचालन गर्ने लक्ष्यका साथ अघि बढ्ने बताउनुभयो । युवाहरुलाई श्रममा जोड्न सामाजिक अभियानको जागरणलाई प्रभावकारी रुपमा अघि बढाइने उहाको भनाइ छ ।
उहाले धरान उपमहानगरपालिकाभित्र रहदा मेयर र बाहिर निस्कदा सामाजिक अभियान्ताका रुपमा प्रस्तुत हुने उल्लेख गर्नुभयो ।
हाल उक्त पार्टीमा पाँच पदाधिकारी सहित २८ केन्द्रीय सदस्य रहेका छन् भने चूनाव चिन्ह माटोको ढिस्को राखिएको छ ।



