महोत्तरीको बदिवास नगरपालिकामा विभिन्न स्थानमा छापा मारी प्रहरीले जुवातास खेलिरहेका १९ जनालाई पक्राउ गरेको छ ।
महोत्तरी प्रहरीले जनाए अनुसार दुबै घटनामा गरी नगद तीन लाख ६८ हजार रुपियाँसहित विभिन्न जुवा सामग्री बरामद गरिएको छ । जुवातास नियन्त्रणका लागि महोत्तरी प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बर्दीवासका विभिन्न ठाउँमा अवाञ्छित गतिविधि भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय बर्दिबासको संयुक्त टोलीले गएराति बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर मन्दिर नजिक छापा मार्दा जुवा खेलिरहेको अवस्थामा १२ जनालाई नियञ्त्रणमा लिएको छ ।
जिल्ला प्रहरीका डिएसपीसमेत रहेका सूचना अधिकारी शैलेन्द्र भट्टले जनाए अनुसार प्रहरीले जुवाको खालबाट एक लाख ३२ हजार नगद, २६ थान कौडा, तीन थान काठका बाकस र विभिन्न ब्राण्डका ११ थान मोबाइल फोन बरामद गरिएको छ । यसअघि बर्दिबास नगरपालिका–७ स्थित किसाननगरमा प्रहरीले छापा मार्दा जुवाडेसहित नगद बरामद गरको छ ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी बर्दिबासका डिएसपी विकाश बम नेतृत्वको टोलीले स्थानीय कर्णबहादुर तामाङको सटर भएको घरमा तलासी लिदा लुकिछिपी जुवातास खेलिरहेको अवस्थामा सात जनालाई रङ्गेहात नियञ्त्रणमा लिएको छ । घटनास्थलबाट प्रहरीले दुई लाख ३६ हजार ५७५ रुपियाँका साथै प्रयोग भएको तासका पत्ता ५२ थान, सिलबन्दी बन्डल एक थान र खुल्ला तासका कार्ड ५२ थान बरामद गरेको जनाएको छ ।
पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर सुरुमा इलाका प्रहरी कार्यालय बर्दिबासमा प्रारम्भिक सोधपुछ गरी अनुसन्धान थालिएको जनाइएको छ ।



