२०८२ कार्तिक १७, सोमबार १६:११

प्रधानमन्त्री सुशीला कार्कीले जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्ने गरी सुधारका कार्यक्रम कार्यान्वयन गर्न सबै मन्त्रालयलाई निर्देशन दिएकी छन्।

सोमबार सिंहदरबारमा मन्त्रालयहरूको कार्यप्रगति समीक्षा गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहलाई आजको प्रमुख आवश्यकता बताउँदै त्यसका लागि ठोस योजना (ब्लुप्रिन्ट) बनाएर तत्काल कार्यान्वयनमा ल्याउन आग्रह गरिन्।



प्रधानमन्त्री कार्कीले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न, कोषको नतिजामूलक प्रयोग सुनिश्चित गर्न र अर्थ मन्त्रालयले जारी गरेको परिपत्रलाई कडाइका साथ पालना गर्न निर्देशन दिइन्। साथै, निजी क्षेत्रको मनोबल वृद्धि गर्न औद्योगिक वातावरण सुधारका लागि संवाद, सहजीकरण र सहकार्य बढाउन सुझाव दिइन्।

उनले निजामती कर्मचारी र सुरक्षाकर्मीहरूको मनोबल वृद्धि गर्न तथा सरुवा–बढुवा प्रणालीलाई व्यवस्थित, पारदर्शी र न्यायोचित बनाउन जोड दिइन्। आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि तत्काल नीति र कार्ययोजना बनाउन, आवश्यक मेशिनरी र उपकरणको खरिद वा वैकल्पिक सेवा प्रवाहको व्यवस्था गर्न पनि निर्देशन दिइएको छ।

उनले मन्त्रालयहरूलाई वार्षिक कार्ययोजना कार्यान्वयनको समीक्षा गर्न, परम्परागत कार्यशैलीबाट माथि उठेर नयाँ मानकहरू स्थापित गर्न र विकास समस्या समाधान समितिहरू सक्रिय रूपमा सञ्चालन गर्न आग्रह गरिन्।

प्रधानमन्त्री कार्कीले तीनै तहका सरकारबिचको समन्वयलाई अझ प्रभावकारी बनाउने, जनशक्ति व्यवस्थापनलाई सुदृढ गर्ने र आपराधिक क्रियाकलापहरू नियन्त्रण गर्न कानुनको शासन कार्यान्वयनमा कुनै सम्झौता नगर्न निर्देशन दिइन्।

Comment


Related News

Latest News

Trending News