२०८२ कार्तिक १८, मंगलवार ०७:४९

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले देशमा चुनाव भयो भने भाग लिने बताएका छन् । जनकपुरधाममा सोमबार विद्यापति स्मृति पर्व २०८२ को सहभागी हुने क्रममा अध्यक्ष ठाकुरले सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै चुनावको बारेमा अहिले पनि संशय कायम नै रहेकाले चुनाव भयो भने मात्रै भाग लिने स्पष्ट पारे ।

अध्यक्ष ठाकुरले भने, ‘चुनाव भयो भने नि भाग लिने हो । तर चुनाव हुन्छ भन्नेमा अहिले पनि संशय छ । जताततै लुटपाटको अवस्था छ, चुनावी वातावरण तयार भएको छैन । सिंहदरवार, सर्वोच अदालत जस्ता राष्ट्रिय सम्पतिहरु जलेको छ ।’ उनले न्याय दिने निकायले नै न्यायका लागि उजुरी लिएर प्रहरी कहाँ गएको छ भन्दै यस्तो अवस्थामा चुनाव कसरी हुने भनेर सञ्चारकर्मीलाई नै प्रतिप्रश्न गरे । उनले नेताहरु अहिले बाहिर निस्कने अवस्था नरहेको भन्दै नेताहरुको मुख थुनेर चुनाव हुन्छ भने परिकल्पना गर्नु गलत हुने बताए । उनले भने, ‘चुनाव भयो भने नेताहरुले नै आ—आफ्नो विचार राख्ने हो । त्यसैले सरकारले यसकालागि वातावरण तयार गर्नुपर्छ ।’ अध्यक्ष ठाकुरले लिगल बोडी अहिले पनि प्रतिनिधिसभा नै रहेको भन्दै आफूहरु प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा रहेको बताए ।

त्यस्तै विद्यापति स्मृति पर्व समारोहमा बोल्दै अध्यक्ष ठाकुरले महाकवि विद्यापति बहुआयामिक व्यक्तित्व भएको भन्दै विश्व साहित्यमा उनको स्थान महत्वपूर्ण रहेको बताए । उनले समाजका सबै वर्गले विद्यापतिलाई सम्मान गरेको भन्दै उनी हाम्रो हुनुमा हामीलाई गर्व रहेको बताए । अध्यक्ष ठाकुरले विद्यापतिका रचना कालजयी भएकाले धेरै भाषाका साहित्यकारले आफ्नै भाषाका महाकविको रुपमा स्वीकार गरेको बताए । अध्यक्ष ठाकुरले मैथिली सहितका भाषा सहित्यमा कवि कोकिल विद्यापतिको योगदान अतुलनीय रहेको बताए ।

उनले विद्यापतिको योगदान मैथिलीका साथै हिन्दी, अवहट्ट, प्राकृत, बंगाली, उडिया सहितको भाषामा रहेकालाई उनको नाम सबै भाषाभाषीहरुले सम्मानका साथ लिँदै आएको बताए । उनी अन्य भाषामा सहित्य लेखन गरेपनि उनको मुल भाषा मैथिली नै रहेकोमा सबै मैथिली भाषी गौरवान्वित हुनुपर्ने बताए ।

भाषा साहित्यमा कवि विद्यापतिको योगदान अतुलनीय रहेको स्मरण गरे । मैथिली भाषा नेपालमा बोलिने भाषाहरुमध्ये दोस्रो स्थानमा रहे पनि रोजीरोटीको भाषा बन्न नसक्दा समुचित विकास हुन नसकेको बताए । अध्यक्ष ठाकुरले मैथिली भाषालाई रोजीरोटीको भाषा बनाउन सरकारसंग माग गरे । उनले मैथिली भाषालाई रोजगारीसँग जोडेको खण्डमा मात्र विद्यापतिप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउँदै यसका लागि प्रदेश सरकारले काम गर्न जरुरी रहेको बताए ।

त्यस्तै मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले विद्यापतिका हरेक रचना विश्वका साहित्यकारका लागि धरोहर भएको बताउँदै शिवका महाभक्त भएका कारणले कार्तिक धवल त्रयोदशीका दिन उनको परिनिर्वाण भएको स्मरण गरे । उनले “देशिल बयना सवजन मिठा” शब्दले नै विद्यापतिको महान् दीर्घकालीन सोचलाई उजागर गर्ने काम भएको बताउँदै उनमा भएको अद्भूत प्रतिभाका कारणले विश्व साहित्यले धेरै ग्रन्थहरू प्राप्त गर्नमा सफल भएको बताए ।

मुख्यमन्त्री सोनलले कुनै पनि भाषाको सम्मान भएमा मात्रै सो भाषामा साहित्य सृजना गर्नेको सम्मान हुने भन्दै मैथिली भाषाको सम्मानका लागि प्रदेश सरकारले कामकाज गर्ने बताए । उनले मैथिली भाषाको सम्मान भएमा महाकवि विद्यापतिको सम्मान अग्रस्थानमै रहेको चर्चा गरे । त्यसैगरि मधेश प्रदेश सभाका निवर्तमान प्रदेश सभाका सदस्य परमेश्वर साहले मैथिली भाषा तथा साहित्यको समृद्धि र विकासका लागि रोजगार ीसँग जोड्न जरुरी रहेको बताउँदै प्रदेश सरकारले मैथिलीलाई कामकाजको भाषाको रुपमा वैधानिक निर्णय गर्नका लागि माग गरे ।

विद्यापति स्मृति पर्व समिति समारोह समितिका अध्यक्ष त्रिदेव मिश्रको अध्यक्षतामा भएको सो कार्यक्रममा विद्यापति ट्रष्टका पूर्वअध्यक्ष चन्द्रमोहन चौधरी, जिउँदो शहीद रामानन्द चौधरी, लोसपाका प्रवक्ता डा. आभाष लाभ (ललन) र प्राध्यापक अवधेश चौधरी सहितका वक्ताहरूले विद्यापतिका विषयमा बोलेका थिए ।

Comment


Related News

Latest News

Trending News