नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले अन्य दलहरुसंगको एकताप्रति असहमति जनाउदै छुटै प्रगतिशील अभियानको घोषणा गर्नुभएको छ ।
मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै शर्माले माओवादी केन्द्रको एकता प्रक्रियाबाट पूर्ण रुपमा अलग हुँदै प्रगतिशील अभियानको घोषणा गर्नुभएको हो । उहाले आफुहरुको अभियान कुनै पार्टी नभएर, विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास भएको जिकिर गर्नुभयो ।

उहाले माओवादी आन्दोलनपछि नेपालमा कम्युनिस्ट आन्दोलन दिशाहीन बनेको र नेताहरू सत्ता तथा स्वार्थमा अल्झिँदा क्रान्तिकारी आदर्श कमजोर भएको उल्लेख गर्नुभयो ।
उहाले पार्टी नेतृत्वले नीतिहीनतालाई नै नीति बनाएको टिप्पणी गर्दै उहाले क्रान्तिकारी आदर्श र जीवन मूल्यहरू क्षय हुँदै गएकाले नयाँ पुस्तालाई समेट्दै नयाँ समाजवादी आन्दोलन निर्माण गर्नुपर्ने बतायनुभयो । शर्माले प्रगतिशील अभियान, नेपालले स्वाधीन, सम्पन्न र समानतामूलक समाजवादी राज्य बनाउने लक्ष्य राखेको जानकारी दिनुभयो उहाले माओवादीको महाधिवेशन कमिटीले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर एकताको नाटक गरेको बताउनुभयो ।
उहाले एकताको नाममा महाधिवेशनलाई टार्ने काम फेरी पनि नेतृत्वबाटै भएकाले यसले जनमत प्राप्त गर्न नसक्ने ठोकुवा गर्नुभयो । प्रचण्डले माओवादी छाडेर माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको उहाको टिप्पणी छ ।
पत्रकार सम्मेलनमा माओवादी नेता राम कार्कीले पार्टी नेतृत्वले गलत निर्णय लिदा आफुहरु त्यसको विपक्षमा उभिनुपरेको बताउनुभयो । एक थान नयाँ पार्टी मात्रै खोल्ने आफुहरुको योजना नभएको भन्दै उहाले गल्ती स्वीकार गरी अभियान चलाउने बताउनुभयो ।
उहाले अहिलेसम्म पार्टी नेतृत्वलाई सुधार्न नसकेको भन्दै माफी समेत माग्नुभयो । आफुहरुको अभियानमा एकतावद्ध हुन उहाले आग्रह गर्नुभयो ।

