२०८२ कार्तिक १९, बुधबार १२:०८

एनसेलले गएको १० दिनमा देशका विभिन्न स्थानहरूमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । यसका साथै ती क्षेत्रका ग्राहकहरूले अब एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् ।

आफ्नो सेवाको निरन्तर विस्तार र गुणस्तर सुधार अभियानअन्तर्गत एनसेलले मधेश, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा आफ्नो फोरजी सेवामा थप टावरहरूका साथ सुधार गरेको छ ।लामो समयसम्म रोकिएको सहजीकरण नेपाल दूरसञ्चार प्राधिकरणले सहज बनाएसँगै एनसेलले चाडपर्वका बेलामा पनि आफ्नो नयाँ टावरको कार्यहरूलाई तीव्रता दिँदै १० दिनमै यी २० वटा नयाँ टावर सञ्चालनमा ल्याएको हो ।

नयाँ टावरहरूको सञ्चालनले ती क्षेत्रका ग्राहकहरूलाई अझ सुधारिएको नेटवर्क र फोरजीको गतिमा पहुँच सुनिश्चित गरेको छ । एनसेलले मधेश प्रदेशमा १३ नयाँ टावरहरू सञ्चालनमा ल्याएको छ र ती स्थानहरू बाराको परवानीपुर, पर्साको पकहा मैनपुर, पोखरिया र वीरगञ्ज, सप्तरीको बलानबिहुल, धनुषाको जनकपुर, कटैया, कमलार विदेह, सर्लाहीको कौडेना र मोतीपुर, र रौतहटको यमुनामाई र माधव नारायणमा गरी १३ वटा नयाँ टावर सञ्चालनमा ल्याएको छ ।

कोशी प्रदेशमा सुनसरीको इनरुवा, बर्जु, हरिनगर र गढीमा चार र मोरङको ववियाविर्ता र मजारेमा दुई गरी ६ वटा नयाँ टावर सञ्चालनमा आएका छन् । बागमती प्रदेशको हेटौँडा (मकवानपुर)मा एउटा टावर जडान गरी सञ्चालनमा ल्याइएको छ ।

एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, ‘हामी नेपालको डिजिटल कनेक्टिभिटी विस्तार गर्ने हाम्रो प्रतिबद्धताअनुरूप हाम्रो फोरजी नेटवर्कलाई विस्तार र सुदृढ बनाइरहेका छौँ । एनसेलले १० दिनभित्रै २० वटा नयाँ टावर सञ्चालनमा ल्याउँदै आधुनिक मोबाइल ब्रोड ब्यान्ड र गुणस्तरीय भ्वाइस सेवामा अझ व्यापक पहुँच सुनिश्चित गरेको छ । साथै, आगामी दुई दिनभित्र हामी थप १० वटा नयाँ टावर सञ्चालनमा ल्याउने योजनामा छौँ, जसले हाम्रा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्नेछ ।’

उनले थपे, ‘यो विस्तार तथा सुधारले फोरजी नेटवर्कलाई अझ सुदृढ बनाउने र देशभरका आमग्राहकहरूलाई भरपर्दो मोबाइल सेवामा पहुँच सुधार गर्ने हाम्रो निरन्तरको प्रतिबद्धतालाई प्रस्ट पारेको छ ।’

नयाँ टावरका लागि उपकरण आयातमा बन्देजका बेलामा पनि एनसेलले देशका विभिन्न भागमा आफ्ना पुराना उपकरणहरूको प्रयोग गर्दै यो वर्ष ४० भन्दा बढी नयाँ टावर जडान तथा सञ्चालन गरेर सेवा विस्तार र सुधार गरेको थियो ।

फोरजी सेवा विस्तार र सुधार योजनाअनुसार, एनसेलले अबको दुई महिनाभित्र देशका सबै प्रदेश समेटिने गरी थप १७० भन्दा बढी नयाँ टावरहरू जडानका लागि काम गरिरहेको छ । यी टावरहरूको जडान र सञ्चालनले सेवा पहुँच र गुणस्तरलाई थप सुढृड बनाउने एनसेलले जनाएको छ ।

आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने प्रतिबद्धताबमोजिम, एनसेलले ग्राहकहरूलाई उच्चगतिको मोबाइलब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै २०७४ साल जेठबाट फोरजी सेवा सुरु गरेको थियो । यो सेवा ७७ वटै जिल्लामा विस्तार विस्तार भइसकेको छ र कुल जनसंख्याको ९५ प्रतिशतभन्दा बढी जनतामाझ यो सेवा पुगेको कम्पनीको दाबी छ ।

Comment


Related News

Latest News

Trending News