जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव जेनजी पुस्ताको आन्दोलनलाई निर्वाचनमा सीमित गरिएको टिप्पणी गरेका छन् ।
बुधबारदेखि काठमाडौँमा सुरु भएको जसपा नेपालको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै यादवले सो टिप्पणी गरेका हुन् ।

उनले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘युवा पुस्ताले गरेको विद्रोहको उपलब्धि केवल सरकार परिवर्तन र २०८४ मा हुने संसदीय निर्वाचन २०८२ मा हुनेमा मात्र सीमित रहने हो कि ? भन्ने आशङ्का र द्धविधा उत्पन्न भएको छ ।’
उनले अहिले संविधान संशोधन अथवा पुनर्लेखन, निर्वाचन प्रणाली र शासकीय स्वरूपमा परिवर्तन, समानुपातिक समावेशी तथा पहिचानको मुद्दा ओझेलमा परेको उल्लेख गरेका छन् ।
तोकिएको समयमा चुनाव हुनुपर्ने उल्लेख गर्दै उनले प्रतिनिधि सभाको निर्वाचनका लागि विश्वव्यापी लोकतान्त्रिक मूल्य र मान्यता अनुरूप समान जनसङ्ख्याका आधारमा प्रतिनिधित्वको व्यवस्था गर्न निर्वाचन क्षेत्र पुनः निर्धारण हुनुपर्ने माग गरेका छन् ।
जनतामा निहित रहेको सार्वभौमसत्ता र राजकीय सत्ता तथा संविधानको प्रतिकुल हुने गरी गरिएका कार्यहरू आफ्नो पार्टीलाई स्वीकार नरहेको उल्लेख गर्दै उनले विगतमा भएका उपलब्धिलाई धराप पार्ने षड्यन्त्र भइरहेको बताए ।
दोस्रो जनआन्दोलनको समयमा भएको घटना, मधेस आन्दोलन तथा थरुहट आन्दोलनमा भएको घटनासम्बन्धी छानबिन आयोग लगायतका न्यायिक तथा छानबिन आयोगका सम्पूर्ण प्रतिवेदनहरू सरकारले सार्वजनिक गर्न अध्यक्ष यादवले माग गरेका छन् ।


