रौतहटको कटहरिया नगरपालिका पछिल्ला दिनमा पूर्ण रूपमा प्रशासनिक कामकाज ठप्प रहेको छ । मेयर अजय प्रकाश जैसवालले ७० जना दैनिक ज्यालादारी कर्मचारीको ठाउँमा १७० जनाको तलब निकासा गर्न दबाब दिएपछि कटहरिया नगरको सम्पूर्ण कामकाज ठप्प भएको आन्दोलनरत कर्मचारीहरुले आरोप लगाएका छन् ।
गत बुधबारदेखि नै तालाबन्दी जारी रहेको छ । एक सातादेखि तालाबन्दी छ । आन्दोलनरत करार र अस्थायी कर्मचारीहरूले नगरपालिकाको सबै फाँट र ९ वटै वडा कार्यालयमा तालाबन्दी गर्दै तलबको तत्काल भुक्तानी हुनुपर्ने भन्दै आन्दोलनमा छन् । सेवाग्राही बिचल्लीमा नगरपालिका र वडा कार्यालय बन्द हुँदा नागरिकहरू जन्म–मृत्यु दर्ता, सिफारिस, कर तिर्ने लगायतका दैनिक प्रशासनिक सेवाबाट वञ्चित भएका छन् ।

आन्दोलनले जनजीवनमा प्रत्यक्ष असर पारेको छ । मेयर जैसवालको मोबाइल नम्बर ९८५५०४१९५९ स्विच अफ रहेको र सम्पर्कमा आउन नसकिएको कर्मचारीहरूले बताएका छन् । आन्दोलनरत कर्मचारी प्रमोद साहका अनुसार मेयरले पटक–पटक तलब दिने आश्वासन दिए पनि कार्यान्वयन भने कहिल्यै भएन । उनले भने, “तीन वर्षसम्म तलब नपाएर पनि हामीले काम ग¥यौं ।
हरेक पटक मेयरले असार मसान्तमा सबै भुक्तानी हुने भन्छन् , तर अन्ततः दुई महिनाको मात्रै तलब पठाउँछन् ।” कर्मचारीहरूको भनाइ अनुसार, गत असार मसान्तमा मेयरले करिब डेढ करोड रुपैयाँ तलबका नाममा निकासा गराएका थिए, तर सो रकम कुन कर्मचारीको खातामा गयो भन्ने अझै अस्पष्ट छ ।
मेयर जैसवालले तलब निकासा गर्न निर्देशन दिएको तर प्रमुख प्रशासकीय अधिकृत उपसचिव गणेश नेपालीले बेवास्ता गरेको आरोप लगाएका छन् । तर उपसचिव नेपाली भने हाल विदामा छन् । उनले भने — “कानुनभन्दा बाहिर गएर १७० जनाको तलब निकासा गर्न दबाब दियो । प्रमाण नभएका करारलाई तलब दिनु गैरकानुनी हुन्छ, त्यसैले म बिदामा बसेको हुँ ।” नगरपालिकाको सूचनाअनुसार करिब १७० जनाले तीन वर्षको वक्यौता तलब माग गर्दै निवेदन दिएका थिए, तर केवल ७० जनासँग मात्रै नियुक्ति र प्रमाणित कागजात रहेको उपसचिव नेपालीको दाबी छ ।
वडाध्यक्ष र उपमेयर आन्दोलनमा गत सोमबार उपमेयर रिता देवी यादव र आठ वडाध्यक्षले धर्नास्थलमै पुगेर कर्मचारी आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए । वडाध्यक्ष सर्फलाल गुप्ताले जनाए अनुसार मेयरको आर्थिक निर्णयहरूमा पारदर्शिता छैन र नगरको स्रोत साधन मनपरी रूपमा प्रयोग भइरहेको छ ।
कटहरिया–५ का वडाध्यक्ष तथा नेपाली कांग्रेस क्षेत्र ३ का सभापति सर्फलाल गुप्ताले भने, “मेयर जैसवाल हरेक वर्ष तलब र इन्धनका नाममा करोडौँ रुपियाँ निकासा गर्छन् । आफ्नै मिल र डिस्टिलरीमा काम गर्ने मजदुरलाई नगरपालिका कर्मचारी बनाएर तलब खुवाइन्छ ।” अख्तियारमा उजुरी, कार्यवाही अझै सुन्य स्थानीय जनप्रतिनिधिहरूका अनुसार सो अनियमितता विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा उजुरी दिइए पनि अहिलेसम्म कुनै कार्यवाही भएको छैन ।
राजनीतिक नेताको प्रतिक्रिया आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आमजनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह र एमालेका केन्द्रीय सदस्य तथा पूर्व प्रदेश सांसद कुन्दन कुशवाहाले कर्मचारीहरूको तलब तुरुन्त भुक्तानी गर्न माग गरेका छन् । दुवैले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारी आफ्नै तलबको लागि सडकमा बस्नुपर्ने अवस्था अत्यन्त दुःखद छ ।”

