२०८२ कार्तिक २१, शुक्रबार ०७:११

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको दुई दिने जारी बैठक २२ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा बुधबार प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि नेताहरुले धारणा राख्दै बिहीवार सर्वसम्मतिले पारित गरिइएको हो । अध्यक्ष यादवले नेपालको वर्तमान राजनीतिक परिस्थिति र जसपा नेपालको दृष्टिकोण एवं कार्यदिशा, पार्टीको संगठनात्मक कार्ययोजना, पार्टी एकता, मोर्चा र चुनावी तालमेललगायतका शीर्षकमा २२ बुँदे प्रतिवेदन पारित भएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बैठकले अध्यक्षद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव उपर समेत निर्णय गरिएको छ । जसपा नेपालले जनताको अधिकार र समावेशी लोकतन्त्रको सुदृढीकरणका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेको छ । संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको पूर्ण कार्यान्वयनमा सरकार गम्भीर बन्नु पर्ने, संविधान संशोधनमार्फत पहिचान, समानुपातिकता र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, मधेश, थारू, जनजाति, दलित र पिछडिएका समुदायका अधिकारका मुद्दा सम्बोधन गर्न विशेष पहल गर्नुपर्ने र बेरोजगारी घटाउने उद्देश्यले रोजगारीमुखी नीति र कार्यक्रम ल्याउन सरकारलाई आग्रह गर्ने प्रस्तावहरु रहेको बुझिएको छ ।

देशको राजनीतिक स्थिरता, संघीयताको प्रभावकारी कार्यान्वयन र जनजीविकासम्बन्धी मुद्दालाई प्राथमिकता दिँदै आगामी रणनीति तय गरेको बस्नेतले बताए । बैठकमा केन्द्रीय पदाधिकारी, प्रदेश इन्चार्जहरू, र विभिन्न विभागीय संयोजकहरूको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News