बालबालिकालाई बिहीबारदेखि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालिएको छ । भिटामिन ‘ए’ कार्यक्रम कात्तिक २१ गते शुक्रबार पनि संचालन हुने जनाइएको छ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेले जनकपुरधाम–२३ बिन्धीस्थित स्वास्थ्यचौकीमा बिहीबार बिहान बालबालिकालाई भिटामिन ‘ ए’ खुवाएर मधेश प्रदेशमा उक्त कार्यक्रमको सुरुवात गरिएको छ ।
भिटामिन ‘ए’ राष्ट्रिय स्तरका कार्यक्रम रहेकाले सहभागी भएर कार्यक्रमलाई सफला पार्नका लागि सबैमा आग्रह पनि गरे । स्वास्थ्य कार्यालय धनुषाका जनस्वास्थ्य प्रशासक उमेश यादवले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ ए’ कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको उनले बताए । भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोगविरुद्ध लड्ने क्षमतामा कमी जस्ता समस्या हुन्छन् । भिटामिन ‘ए’ ले हड्डीलाई मजबुत बनाउने, घाउ पुर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा छालालाई स्वस्थ राख्ने काम गर्छ । यसकासाथै यसले भोजनलाई शक्तिमा परिवर्तन गर्नुका साथै कोषलाई समेत स्वस्थ राख्छ ।


