कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हाले निर्वाचनको बिकल्प नरहेकाले सरकारको ध्यान पूर्ण रुपमा निर्वाचनमा केन्द्रीत रहेको बताउनुभएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा मन्त्री सिन्हाले अवको प्रतिनिधिसभामा नयाँ पुस्तालाई समेत सहभागी गराउन निर्वाचनको बिकल्प नभएकाले सरकारको ध्यान पूर्ण रुपमा निर्वाचनमा केन्द्रीत रहेको बताउनुभएको हो ।

जेनजीको माग अनुसार संविधान संशोधनका साथै मुलुकमा शान्ति सुरक्षाका लागि समेत निर्वाचन अपरिहार्य रहेकाले जसरी भएपनि तोकिएको समयमा निर्वाचन हुने उहाले बताउनुभयो । उहाले निर्वाचनका बिषयमा सरकारले दलहरुसंग पनि निरन्तर छलफल गरिरहेको भन्दै यसमा दलहरुबाट पनि सकारात्मक सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री सिन्हाले जनेजी आन्दोलनका क्रममा नियोजित रुपमा आगजनीका साथै हिंसात्मक घटना भएकाले सुक्ष्म ढंगले अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
जेनजी आन्दोलनमा धेरै हतियारहरू लुटिएको र कैदीहरु समेत भागेकाले जनताले असुरक्षित महसुस गर्नु स्वाभाविक भएको भन्दै मन्त्री सिन्हाले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायहरु गम्भीर भएर क्रियाशिल भएको बताउनुभयो ।
उहाले मितव्ययीता कायम गर्न सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सेवा सुविधा घटाउने निर्णय गरेको भन्दै यसमा संसदका पदाधिकारीसंग पुनः छलफल गर्न सरकार तयार रहेको धारणा राख्नुभयो ।

