मधेश प्रदेश सरकार गठन भएको तीन सातापछि आज मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री सोनललाई विश्वासको मत लिनका लागि रस्साकसी चलिरहेको छ । प्रतिपक्षी दलहरुले असफल गर्नका लागि सांसदहरुलाई आफ्नो क्याम्पमा तान्नका लागि विभिन्न खाले यूक्ति लगाइ रणनीतिमा लागेका छन् ।

मुख्यमन्त्रीको दाबेदार समेत रहेका कांग्रेस– एमाले गठबन्धनले मुख्यमन्त्री सोनललाई विश्वासको मतमा असफल गराउन नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र तथा नेकपा एसको एकीकरणबाट असन्तुष्ट प्रदेश सांसदहरुलाई आफ्नो पक्षमा तान्न लागिपरेका छन् ।
मुख्यमन्त्री सोनलले विश्वासको मत लिनमा सफल हुन नदिन पार्टीको भूमिका बारे कांग्रेस संसदीय दलको बैठक समेत सम्पन्न भएको छ । बैठकमा मुख्यमन्त्री सोनललाई विश्वासको मत लिनमा असफल पार्नका लागि कांग्रेसको भूमिकाबारे छलफल भएको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिए । उनले मुख्यमन्त्रीको दाबेदार मध्ये आफू पनि रहेकाले कुनै पनि हालतमा विश्वासको मत लिनमा सोनललाई सफल हुन नदिने बताए । उनले भने, ‘केही कारणवश मुख्यमन्त्रीलाई विश्वासको मत असफल पार्न हुन सकेनौं भने हामी प्रतिपक्षी दल हुने छौं, हामीसँग मत माग्ने वहाँको राइटस् पनि होइन, हामीले प्रतिपक्षीको हिसाबले खेल्न सक्ने भूमिका बारे बैठकमा छलफल भएको छ ।’
यता नेकपा एमालेले पनि मुख्यमन्त्री सोनललाई असफल गराउने आन्तरिक तयारीमा लागेका छन् । एमालेले पनि रणनीति अनुसार कांग्रेससंग आन्तरिक गृहकार्यमा जुटेको छ । कांग्रेसले बैठक गरे पनि एमालेले आन्तरिक रुपमै तयारी गरेको छ । कांग्रेस– एमाले मुख्यमन्त्री सोनललाई असफल पार्न जेजति गरे पनि मुख्यमन्त्री सोनल भने विश्वस्त रहेका छन् ।
मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् । विश्वासको मतमा एक/दुई सिटको फरक पर्न सक्ने सोचेर सरकार गठन भएको तीन साता बितिसक्दा पनि अहिलेसम्म मन्त्रिपरिषद विस्तार गरेका छैनन् । जनमत पार्टी र नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनाए पनि तिनीहरुलाई कुनै जिम्मेवारी नदिइ विना विभागीय मन्त्रीमै राखेका छन् ।
मुख्यमन्त्री सोनल ५ दलको ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी समेतले जनाएपछि ५८ म त पुगेको छ । तर मुख्यमन्त्री सोनलले ५५ मत मात्र पाउने सम्भावना रहेको छ ।
मुख्यमन्त्री सोनलको समर्थनमा ५८ मत रहेको मध्ये १३ सांसद रहेका जनमत पार्टीबाट मात्र ११ वटा मत पर्ने अवस्था रहेको छ । जनमतबाट निवर्तमान मुख्यमन्त्री सतीशकुमार सिंह र त्रिभुवन साह अलग भइ जनस्वराज पार्टीमा गएका कारण १३ मध्ये ११ मतमा जनमत सिमित भएको छ भने जनता समाजवादी पार्टी (जसपा) का सांसद सरोज सिंह कुशवहा निलम्बित भएपछि ३ वटा मत कम हुने भएको छ । विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्रीलाई चुनौती देखिएको छ ।
नेकपा एसका असन्तुष्ट सांसद, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीलाई फकाउन कांग्रेस एमाले गठनबन्धन सफल भएभने मुख्यमन्त्री सोनल विश्वासको मतमा असफल हुने निश्चित रहेको प्रतिपक्षी दलका एक नेताले दाबी गरेका छन् । तर मुख्यमन्त्री सोनलका पक्षमा रहेका सत्तागबठन्धन दलहरु भने ढुक्क छन् ।
पाँच दलीय समर्थनमा मुख्यमन्त्री पदमा पुगेका सोनललाई अहिले साना दलहरु गरी सात दलीय गठबन्धनको समर्थन रहेकाले विश्वासको मत पाउनेमा सुनिश्चित रहेको जसपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले बताए । १०७ सदस्यीय प्रदेशसभामा हाल १०४ जना सदस्य कायम रहेका छन् ।
संविधानअनुसार विश्वासको मतका लागि प्रदेशसभामा कायम सदस्यको बहुमत अर्थात् कम्तीमा ५३ मत आवश्यक हुन्छ । मुख्यमन्त्री सोनलसंग जसपा नेपालका १८ जना, जनमत पार्टीका ११ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा एसका ७ जना, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १÷१ जना सांसदको मत रहेको छ ।

