मधेस प्रदेससभाको बैठक चलिरहेकै समयमा माओवादी केन्द्रका प्रदेशसभा रहबर अन्सारी आफ्नै अनुहारमा कालोमोसो दलेका छन् ।
मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिनका लागि डाकिएको बैठकमा बोल्दै रहबर अन्सारीले प्रदेशसभामा रहेका कुनै पनि प्रदेशसभा सदस्यहरुसंग सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेको भन्दै विश्वासको मत नदिने भन्दै आफ्नो अनुहारमा कालोमोसो दले । उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने हामी सबै प्रदेशसभा सदस्यहरु जनताको मर्म अनुसार काम गर्न नसकेकाले यो प्रदेशसभामा रहेका प्रदेशसभा सदस्यहरुले निकास दिन नसक्ने स्पष्ट गरे । उनले भने ‘आज हामी सबैले गलती स्वीकार गर्ने समय आएको छ, अहिलेका हामीमध्ये कोही संग सरकारको नेतृत्व गर्ने अधिकार छैन ।’
अन्सारीले बोले लगत्तै माओवादी केन्द्रकै प्रदेशसभा सदस्य माला कर्णले पनि विश्वास मत नदिने घोषणा गरिन् । उनले प्रदेश सरकारको पनि निर्णय केन्द्रले नै नियन्त्रण गरिरहेकाले आफू केन्द्रको निर्णय अनुसार अगाडी बढ्न नसक्ने बताइन् ।


