रौतहटको फतुवा बिजयपुर नगरपालिका–२ स्थित सितलपुरका शंकर साह बनियाको हत्या प्रकरणमा दोषीमाथि कडा कारबाहीको माग गर्दै पीडित परिवार र स्थानीयबासीले सदरमुकाम गौरमा आज जोरदार विरोध प्रदर्शन गरेका छन् ।
“न्याय देउ, दोषीलाई कारबाही गर” भन्ने नारासहित प्रदर्शनकारीले हातमा प्लेकार्ड बोकेर गौर बजारका मुख्य सडकमा जुलुस निकालेका थिए । प्रदर्शनमा सहभागीहरूले राज्य संयन्त्र र प्रहरी प्रशासनमाथि गम्भीर लापरबाहीको आरोप लगाउँदै तत्काल कदम चाल्न चेतावनी दिए । पीडित परिवारका एक सदस्यले आक्रोश व्यक्त गर्दै भने, “२१औँ शताब्दीको लोकतान्त्रिक शासनमा न्यायका लागि सडकमा आउनु हाम्रो विवशता हो ।
प्रशासनको मौनताले हामीलाई सडकमा ल्याइएको हो ।” प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीलाई तत्काल पक्राउ, र वास्तविकता सार्वजनिक गर्न सरकारसंग माग गरेका छन् । यसैबीच प्रदर्शनकारीहरू अहिले पनि जिल्ला अदालत रौतहटको अगाडि धर्नामा बसेका छन्। उनीहरूले “न्याय नपाएसम्म आन्दोलन जारी रहने” घोषणा गरे ।
पीडित पक्षले आरोप लगाएका छन् कि ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवले आर्थिक प्रलोभनमा परेर दोषी पक्षलाई बचाउने उद्देश्यले प्रतिवेदन पठाएका छन् । तर इन्स्पेक्टर यादवले ती आरोपको खण्डन गर्दै भनेका छन्, “मैले कानुन अनुसार प्रतिवेदन पठाएको हुँ, कसैको दबाब वा प्रलोभनमा परेको होइन ।” उक्त हत्या मुद्दा अहिले अदालतमा छुनचेक बहसको चरणमा रहेको छ ।



