२०८२ कार्तिक २४, सोमबार ०७:४४

सर्लाहीको मलंगवा नगरपालिकामा तालाबन्दी गरिएको छ । उपप्रमुख सकुन्तला देवी साहको नेतृत्वमा आइतबार मलंगवा नगरपालिकामा तालाबन्दी गरिएको हो ।

मलंगवा नगरपालिकामा रहेका १२ वटा वडाका वडाध्यक्ष, कार्यपालिकासहितका टोली नगरप्रमुख नागेन्द्र प्रसाद यादवको कार्यकक्ष, प्रशासन शाखा, लेखा शाखा, स्टोर, कार्यालय प्रमुख होमनाथ सुवेदीको कार्यकक्ष लगायत नगरपालिकाको मुख्य गेटमा छुट्टाछुट्टै तालाबन्दी गरेका छन् । कार्तिक १९ गते विभिन्न १० बुँदे मागसहित उपप्रमुख सकुन्तला देवी साह सहित मलंगवा नगरपालिकाका १२ वटा वडाका वडाध्यक्षहरुले प्रेस विज्ञप्ति नगरपालिकामा बुझाएका थिए ।

आफूहरुको १० बँुदे मागलाई नगरप्रमुख नागेन्द्र प्रसाद यादवले बेवास्ता गरेको बताउँदै बाध्य भएर नगरपालिकामा तालाबन्दी गरेको उपप्रमुख सकुन्तला देवी साहले जनाइन् । १० बुँदे माग पूरा नभएपछि आफुहरुले अनिश्चितकालका लागि तालाबन्दी गरेको नगरपालिकाका प्रवतmा तथा वडा नं. १ का वडाध्यक्ष नबल राय यादवले जनाएको छ ।

ज्येष्ठ नागरिक, विद्यार्थीहरुको एक समूहले मलंगवा नगरपालिका कार्यालय घेराउ गरी नगरप्रमुख नागेन्द्र प्रसाद यादव बिरुद्ध कार्तिक १९ गते चर्को नारावाजी गर्दै प्रदर्शन गरेका थिए । मलंगवा वडा नम्बर नं. ९ मा अवस्थित कृष्णा मति मा.वि. का शिक्षकहरुले ४ महिना देखि तलबभता पाएका छैनन् भने ज्येष्ठ नागरिकले पाउँदै गरेको वृद्धा भता विगत ४ महिना देखि पाएका छैनन् ।

यावत समस्याहरुलाई तत्काल समाधान गर्न नगरप्रमुखलाई भने पनि अटेरी गरेकोले पालिकामा तालाबन्दी गरेको हो । मलंगवा वडा नम्बर नं. १२ का वडाध्यक्ष रामदरेश रायले मलंगवा नगरपालिका बिचौलिया तथा दलालहरुले चलाएको आरोप लगाए । वितेको १० वर्ष देखि यस कार्यालयमा निमित कार्यालय प्रमुख होमनाथ सुवेदीले चलाएको छ ।

यो दश वर्षमा सुवेदीको दर्जनौँ पटक कामकाजका लागि सरुवा भए पनि पैसा खुवाएर पुनः नगरपालिकामा हाकिमको कार्यभार सम्हाल्दै आएका छन् । होमनाथ सुवेदी आएदेखि पालिकामा अनियमितता बढेको जनप्रतिनिधिहरुकै आरोप छ । शिक्षा, स्वास्थ्य र विकास निर्माणको कार्य चौपट भएकोले तालाबन्दी गरेको वडाध्यक्ष रायले आरोप लगाए ।

नगरप्रमुख यादवले सरुवा भई आएका हाकिमलाई हाजिर गर्न दिएका छैनन् । हाकिम नहुँदा पालिकाको सम्पूर्ण काम ठप्प परेको नं. ९ का वडा अध्यक्ष चन्देश्वर राय यादवले बताए । जनप्रतिनिधीहरुले १० बुँदे माग वडा नम्बर सहितको प्रेस विज्ञप्ति निमित्त कार्यालय प्रमुख रामलाल सहनीलाई बुझाएका थिए ।

पालिकामा रहेका एकदलीय तन्त्र अन्त हुनुपर्ने । बिचौलियाहरु कार्यालयमा हावी भएकोले बिचौलियाहरुलाई कार्यालय प्रवेशमा रोक लगाउनु पर्ने, कृष्णदेवी जनता मा.वि.को समस्या समाधान गर्नुपर्ने, सामाजिक सुरक्षा भता अविलम्व निकासा गर्नुपर्ने, सरुवा भइ नयाँ आएका कार्यालय प्रमुखलाई हाजिर गराउनु पर्ने, प्राविधिकहरु बीचको द्वन्द्व समाधान गर्नुपर्ने, प्रत्येक वडाको बिजुली बत्ती तथा सरसफाईको काम सम्बन्धित वडालाई दिनुपर्ने, वडा कार्यालयमा कार्यरत कर्मचारीहरुको समस्या समाधान गर्नुपर्ने, कार्यालयमा रहेका डोजर तथा सरकारी सवारी साधन व्यतिmगत काममा प्रयोग गर्न बन्द गर्नुपर्ने, कार्यपालिकाको मासिक दुईचोटी बैठक हुनुपर्ने, नगरपालिकामा सुशासन कायम हुनुपर्ने मागसहित रहेको निमित्त कार्यालय प्रमुख सहनीलाई बुझाएका छन् ।

गत १९ गते विज्ञप्ति बुझाउँदै कार्तिक २३ गते आइतबार सोमबारसम्मको समय दिएको थियो । नगरप्रमुख यादवले आफूहरुको जायज मागलाई बेवास्ता गरेको बताउँदै आईतबार तालाबन्दी गरेका थिए । आफूहरुको माग पूरा नभएमा चरणवद्ध कडा आन्दोलन गर्ने चेतावनी दिए ।

Comment


Related News

Latest News

Trending News