२०८२ कार्तिक २४, सोमबार १६:०१

नेपाली कम्युनिष्ट पार्टी र भीम रावल नेतृत्वको ‘माभृभूमि जागरण अभियान’बीच कात्तिक २६ गते पार्टी एकता घोषणा हुने भएको छ।

कार्तिक २६ गते प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो साढे १ बजे एकता घोषणा कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल र भीम रावलले सम्बोधन गर्नेछन्।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टीसहित १० पार्टीबीच कार्तिक १९ गते एकता घोषणा भएको थियो। त्यसै दिन रावललाई पनि एकतामा सहभागी गराउने तयारी भए पनि अन्तिम समयमा रोकिएको थियो।

आइतबार नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालबीच उनकै निवास टोखामा भएको छलफलले एकता टुङ्ग्याएको थियो।

अब नेपाली कम्युनिस्ट पार्टीमा रावल छैठौं वरियताको नेता हुने जनाइएको छ । एक वर्षअघि एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठाएको भन्दै उनलाई पार्टीबाटै निष्कासन गरिएको थियो।

चार वर्षअघि सौराहमा भएको पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका रावल पराजित भएका थिए। उनले ओलीको पार्टी सञ्चालन शैलीमाथि निरन्तर प्रश्न उठाएपछि ओलीले कारबाहीस्वरूप दलबाटै निकालिदिएका थिए। त्यसपछि रावल मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका छन्।

छुट्टै दल बनाउने तयारीमा रहेका रावल जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमका कारण नेकपामा समाहित हुन सहमत भएका हुन्।

Comment


Related News

Latest News

Trending News