पदीय गरिमा विपरीत एक होटलमा बसेर नेकपा एमाले मधेश प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त र शपथ गराएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकबाट उनलाई पदबाट हटाउने निर्णय गर्दै प्रा. डा. सुरेन्द्र लाभलाई प्रदेश प्रमुखको रुपमा नियुक्त गरिएको छ । एमालेको कोटाबाट प्रदेश प्रमुख बनेकी भण्डारीले एमाले नेतृत्वको सरकार बनाउनका लागि आफ्नो संवैधानिक पदको समेत ख्याल नगरेपछि सोमबार दिनभर जनकपुरधाममा तनावको स्थिति उत्पन्न भएको थियो । उनले प्रदेश प्रमुखको कार्यलयभन्दा बाहिर गएर महोत्तरीको बर्दिवासको एक होटलमा सोमबार एकाबिहान मुख्यमन्त्री नियुक्त गरी शपथ गराएकी थिइन् ।
भण्डारीले संविधानमा भएको व्यवस्था एवं कयौं नजीरहरुको प्रतिकूल मधेश प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको एमालेको संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री बनाएकी थिइन् ।



