२०८२ कार्तिक २५, मंगलवार ०८:०३

रौतहटको चर्चित शंकर साह बनिया हत्या प्रकरणमा संलग्न दुई जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । रौतहट जिल्ला अदालतका न्यायाधीश शम्भु प्रसाद रेग्मीको एकल इजलासले आइतबार अबेर साँझ थुनछेक बहसपछि दुवै आरोपितलाई थुनामा पठाउने आदेश दिएको छ ।

अदालतका अनुसार फतुवा विजयरपुर नगरपालिका–२ स्थित सितलपुरका बरिष्ठ हवल्दार ४३ वर्षीय बिनोद भन्ने हरदेव राय यादव र ६० वर्षीय कपिलदेव यादवलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७(१) बमोजिम तत्काल निर्दोष भन्न नसकिने ठहर गर्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ ।

गत असोज २६ गते साँझ जग्गाको विवादका क्रममा भएको कुटपिटबाट शंकर साह बनियाको मृत्यु भएको थियो । सो मुद्दामा मृतकका नातेदार धर्मेन्द्र साह बनियाले नेपाल सरकारको तर्फबाट जाहेरी दर्ता गराएका थिए । थुनछेक बहसकै दिन न्यायको माग गर्दै पीडित परिवार र स्थानीयवासीले जिल्ला अदालत गौर अगाडि बिहानदेखि साँझसम्म धर्ना दिएका थिए ।

प्रदर्शनकारीहरूले “न्याय देउ, दोषीलाई कारबाही गर” भन्ने नारा लगाउँदै गौर बजारमा जुलुस समेत निकालेका थिए । पीडित परिवारले राज्य संयन्त्रमाथि लापरबाही र प्रभावशाली पक्षको दबाबमा अनुसन्धान प्रभावित भएको आरोप लगाएका थिए । उनीहरूले इलाका प्रहरी कार्यालय बिजयपुरका इन्स्पेक्टर सुरेन्द्र यादवमाथि दोषीलाई जोगाउन खोजेको आरोप समेत लगाएका छन् ।

तर इन्स्पेक्टर यादवले भने आफूले कानुन अनुसार प्रतिवेदन पठाएको र कुनै दबाब वा प्रलोभनमा नपरेको स्पष्ट पारेका छन् । इन्सपेक्टर यादवले निवेदकको जाहेरी अनुसार घटनामा संलग्न ६ जनामाथि ज्यान सम्बन्धी मुद्दा दायर गरिएको छ । वरिष्ठ हवल्दार यादवलाई घटनाको अर्कोदिन चितवनबाट पक्राउ गरेर ल्याइएको थियो भने अर्कालाई बिजयपुर बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

संलग्न अन्य चारजना भारततर्फ फरार भए पनि उनीहरूको सूक्ष्म तरिकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बिजयपुरले जनाएको छ । घटना भएदेखि नै आरोपी वरिष्ठ हवल्दार विनोद भन्ने हरादेव यादवलाई बचाउने षड्यन्त्र भइरहेको पीडित पक्षले आरोप लगाए ।

Comment


Related News

Latest News

Trending News