२०८२ कार्तिक २५, मंगलवार १३:४३

रौतहटको कटहरिया नगरपालिकामा करार र दैनिक ज्यालादारीका कर्मचारीहरूले बक्यौता तलब–भत्ता भुक्तानीको माग गर्दै गरेको तालाबन्दी अन्ततः १५ औं दिनमा खोला गरिएको छ।

मेयर अजय प्रकाश जैसवालले समस्या समाधानमा लागि कुनै वास्ता नगरेपछि ९ वटै वडाका अध्यक्षहरु र कार्यपालिका सदस्यहरूले तलब निकासा नभए पुनः तालाबन्दी गर्ने सर्तमा सोमवार साँझ खुलाईएको छलफलमा सहभागी वडा ४ का अध्यक्ष चन्दन कुशवाहाले बताएका छन्।

अध्यक्ष कुशवाहाका अनुसार मेयर जैसवालले नगरको समस्या समाधानका लागि गत शुक्रवार नगरको कार्यालयमा आउने बताएका थिए, तर निर्धारित समयमा नआएपछि हामी सबै वडा अध्यक्षहरू निराश बनेका थिए । उनले भने, “हामी दिनभर पर्ख्यौं, तर मेयर आएनन् । अन्ततः सबै वडा अध्यक्ष र कार्यपालिका सदस्य मिलेर सहमतिका साथ सोमवार साँझ ताला खोलेका हौं।

गैरजिम्मेवार मेयर र जनप्रतिनिधिलाई जिम्मेवार बनाउन हामी बाध्य भयौं । सेवाग्राहीको पीडा अन्तिम अवस्थामा पुगेपछि तालाबन्दी खोलिएको उनको भनाई छ।

बैठकमा सहभागी कार्यपालिका सदस्य मनोज कुमार जैसवालले तत्काल मेयरले बसाउने बैठकमा राखिने कुनै पनि प्रस्तावमा हस्ताक्षर नगर्ने सम्पूर्ण वडा अध्यक्ष र नगर कार्यपालिका बीच सहमती भएको बताएका छन्।

नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि पहिलो प्राथमिकतामा कर्मचारीहरूको तलब निकासा गर्ने सहमति भएको छ । सबै मिलेर कर्मचारीको तलब को माग पहिलो प्राथमिकतामा राखिने छ।

यदि अधिकृत आएको सात दिनभित्र कर्मचारीको बक्यौता तलब नदिइए, फेरि सबै वडा र नगर कार्यालयमा तालाबन्दी गर्ने ू निर्णय पनि भएको नगर कार्यपालिका सदस्य जैसवालले चेतावनी दिएका छन्।

सोमवार ताला खुलाउन भएको छलफलमा वडा १ का अध्यक्ष भूपेन्द्र महतो,वडा ३ का अध्यक्ष श्यामाकान्त यादव,४ का अध्यक्ष चन्दन कुशवाहा,५ का अध्यक्ष सर्फलाल गुप्ता,८ का अध्यक्ष समिश विक्रम शाह, लगायत नौ वटै वडा अध्यक्षहरु, मनोज कुमार जैसवाल, जामुन ठाकुर लगायत सम्पूर्ण नगर कार्यपालिका सदस्यहरु, करारका कर्मचारी प्रमोद कुमार साह लगायत आन्दोलनकारीहरु, त्यस्तै नगरपालिकाको योजना शाखा प्रमुख रामनरेश यादव, लगायतको उपस्थिति रहेको थियो।

तालाबन्दीका कारण दुईसाता देखी बन्द रहेको नगरपालिकाका अत्यावश्यक सेवा नागरिकता सिफारिस, सामाजिक सेवा, राजस्व संकलन लगायतका नियमित कामकाजहरु आज मंगलबारदेखि कटहरिया नगरपालिका र सबै वडामा पुनः सुचारु भएको छ ।

करार, दैनिक ज्यालादारी लगायतका कर्मचारीहरु तलब भत्ताको माग गर्दै १५ दिन अघी दोस्रो पटक कटहरिया नगरपालिकाको सबै शाखाका साथै ९ वटै वडा कार्यालयहरुमा तालाबन्दी गरेका थिए।

यस अघि गत भदौमा आन्दोलनकारीहरुले पहिलो पटक तलबको माग गर्दै तालाबन्दी गर्दा दशैं तिहार अघिनै भुक्तानी गर्ने सहमतिमा खोलिएको थियो। सहमती अनुसार भुक्तानीको लागि नगरपालिकाले निवेदन आव्हान गर्दा करिब ७० जना कर्मचारीले नियुक्ती पत्र लगायत आवशयक कागजात सहित निबेदन दिएको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उपसचिव गणेश नेपालीले बताएका छन्।

तर कार्यपालिका बैठकमा मेयर अजय प्रकाश जैसवालले बिना नियुक्तिपत्र बिना कुनै प्रमाण मात्र निवेदनको भरमा थप १०० जना अर्थात १७० जनाको तलब निकासा गर्न दवाब दिएपछि आफूले न मानेको उपसचिव नेपालीको भनाई छ। कटहरिया नगरपालिका, सबै ९ वडा र सबै शाखामा गरी कार्यरत करार र दैनिक ज्यालादारीका करिब ७० जनाको ६ महिना देखी ३६ महिनासम्मको तलब बक्यौता रहेको छ। आफू त्यहाँ काम गरेको मात्र दुई महिना भित्रै बिना जानकारी बिना कागजात १०० जनाको तलब कुन आधारमा निकासा गर्ने बरु कटहरियामा काम गर्दिन भनेर आगामी २८ गतेसम्म बिदामा बसेको उपसचिव नेपालीले गुनासो गरेका छन्। उता मेयर जैसवालले आफू अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउन मन्त्रालयमा अनुरोध गरेको छु। नयाँ अधिकृत आएपछी कर्मचारीको बक्यौता तलब भत्ता वितरण गराउने बताएका छन्।

कटहरियामा मेयर जैसवालले जिम्मेवारी सम्भाले देखिनै प्रत्येकबर्ष करार, दैनिक ज्यालादारी, अस्थायी कर्मचारीको तलब र गाडीको ईन्धनको नाउँमा करोडौँ रुपैयाँ अनियमितता गर्दै आएको निर्वाचित जनप्रतिनिधिहरुले नै दाबी गर्दै आएका छन् ।

Comment


Related News

Latest News

Trending News