मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले मधेश आन्दोलनका शहीदहरुलाई मधेश रत्नले सम्मानित गर्ने पहिलो निर्णय गरेका छन् । मुख्यमन्त्री यादवले कार्यभार सम्हाल्दै मधेश आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरुलाई मधेश रत्न सम्मानबाट सम्मानित गर्ने निर्णय गरेका हुन् ।
मुलुकमा संघियता ल्याउन मधेसका शहीदहरुको अतुलनीय योगदान रहेको मुख्यमन्त्री यादवले बताए । उनले शहीदका परिवारलाई मधेसमा आर्थिक सहयोग त दिइयो तर मधेसका शहीदहरुलाई सम्मान भएन, त्यसैले मैले पहिलो निर्णयमा नै मधेस रत्नबाट ती शहीदहरुलाई सम्मान गर्ने निर्णग गरेको बताए ।
कातिक २३ गते मुख्यमन्त्री नियुक्त भएका र कातिक २४ गते बिहानै मुख्यमन्त्री पदको शपथ लिएका मुख्यमन्त्री यादवले आज मधेस भवनमा पुगेर आफ्नो कार्यभार सम्हालेका हुन् । उनले प्रदेशमा शान्ति सुव्यवस्था कायम गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिएका हुन् ।


