नेकपा एमाले नेतृत्वको मधेश प्रदेशमा गठित प्रदेश सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रदेश सभा सदस्य कञ्चन विच्छा सहभागी भएपछि उनलाई पार्टीले स्पष्टीकरण सोधेको छ ।
मन्त्री विच्छालाई राप्रपाले २४ घण्टे स्पष्टीकरण सोधेको छ । पार्टीको नीति, सिद्धान्त र हित विपरीत हुनेगरी गैर जिम्मेवार पूर्वक एवं अनुशासनहीन कार्य गरेको भनी राप्रपा अनुशासन समितिले उनीसँग स्पष्टीकरण सोधेका छन् । केन्द्रीय अनुशासन समितिका सदस्य सचिव भक्ति प्रसाद सिटौलाले उनलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन भन्दै पत्र पठाएको छ ।
पार्टीको निर्णय विपरित सरकारमा सहभागी भएको सम्बन्धमा तपाईंलाई राप्रपाको विधान २०४८ (संशोधन सहित २०७८) दफा ३० (ड) बमोजिम किन कारबाही र सजाय गर्न नपर्ने हो ? नपर्ने भए प्रमाण सहित २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न केन्द्रीय अनुशासन समितिको निर्णय अनुसार अनुरोध गर्दछु,’ सिटौलाले पठाएको पत्रमा उल्लेख छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले हिजो नै मधेश प्रदेश सरकारबाट फिर्ता हुन उनलाई निर्देशन दिएको थियो । एमालेका सरोज यादवको नेतृत्वमा रातारात गठन भएको विवादित सरकारमा विच्छालाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ ।



