२०८२ कार्तिक २७, बिहीबार ०७:०४

मधेश प्रदेशका प्रदेश प्रमुख आचरण विपरीत कार्य गरेको कारण बर्खास्त भए लगत्तै प्रदेश सभाका सभामुख रामचन्द्र मण्डललाई हटाउन महाअभियोगको तयारी थालिएको छ ।

नेकपा एमालेबाट सभामुख भएका मण्डलले मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले विश्वासको मत लिन खोज्दा पदीय आचरण विपरीत कार्य गरेको आरोप विपक्षी दलले लगाएका छन् । सोनलले विश्वासको मत लिन डाकिएको प्रदेश सभा बैठकमा उनलाई समेत सम्बोधन गर्न दिएको थिएन । सोनल सदन बाहिर नै रहेको बेला माओवादीका असन्तुष्ट सांसदहरुलाई बोल्न लगाएर मत विभाजनको प्रक्रियालाई अगाडि बढाएपछि गठबन्धनका सांसदहरु आक्रोशित भएका छन् ।



सभामुख मण्डलले पदीय मर्यादा विपरीत एमालेको कार्यकर्ताको भूमिकामा देखिएको आरोप विपक्षीहरुले लगाएका छन् । नेपाली कांग्रेसका एकजना सांसदले जनाए अनुसार सभामुख मण्डल उपर महाअभियोग लगाउन आवश्यकभन्दा बढी सांसदको हस्ताक्षर संकलन भइसकेकोछ ।

सभामुखलाई हटाउन ७४ जना सांसदको भन्दा बढी हस्ताक्षर संकलन भएको दाबी विपक्षी दलहरुले गरेका छन् । सभामुख मण्डलको भूमिका उपर बारम्बार प्रश्न उठाइएको छ । लोसपाका सांसद उपेन्द्र महतोले मण्डलको भूमिकाको विरोध गर्दै गालीगलौज समेत गरेका थिए । त्यस अघि पनि नेपाली कांग्रेसका सांसद शेषनारायण यादवसित झगडा परेको थियो ।

बजेटका लागि हरेक आर्थिक वर्षको चैत वैशाखमा मण्डल विवादमा पर्ने गरेका छन् । करारमा उनले आफ्ना परिवार र नातेदारहरुलाई भर्ना गरी तलब, सुविधा लिएको आरोप लाग्दै आएको छ । सात दलीय गठबन्धनले सभामुखलाई हटाउने प्रक्रिया आगामी सोमबारबाट शुरु गर्ने उच्च स्रोतले जनाएका छन् ।

स्रोतका अनुसार सर्वोच्च अदालतमा आइतबार मुख्यमन्त्री विरुद्धको मुद्दाको पेशी रहेकाले सोमबार लगत्तै सभामुख विरुद्ध महाअभियोग दर्ता गरिने छ । सभामुख मण्डलले कसैको दबाबमा राजीनामा नगर्ने बताउँदै महाअभियोग फेस गर्ने बताउन थालेका छन् । मधेश प्रदेशमा उनी दोस्रो सभामुख हुन् । तर सभामुख बनेदेखि नै उनी विवादमा पर्दै आएका छन् ।

Comment


Related News

Latest News

Trending News