नेकपा एमालेका नेता सरोजकुमार यादव नेतृत्वको मधेश प्रदेश सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सहभागी भएका कञ्चन विच्छाले पार्टीको निर्देशनलाई बेवास्ता गर्दै आएको छ । पार्टीको पूर्वनिर्णय अनुसार सरकारबाट फिर्ता हुन पार्टीले पटक पटक आग्रह गरेपनि उनले बेवास्ता गर्दै आएको छ । अन्ततः मंगलबार पार्टीले उनीसँग २४ घण्टे स्पष्टीकरण समेत सोधेको छ ।
पार्टीको निर्देशनलाई बेवास्ता गर्दै आएको जिज्ञासामा विना विभागीय मन्त्री कञ्चन विच्छाले भनिन् ‘पार्टीको निर्देशन आफू बेवास्ता गरेको छैन । पार्टी हित विपरित म जादिँन, आफूसँग स्पष्टीकरण सोधिएको फिर्ता हुन भनिएको छैन । त्यसको जवाफ म पठाइसकेको छु ।’ के स्ष्टीकरण दिनु भएको छ भन्ने राखिएको जिज्ञासामा उनले पार्टीको नीति, सिद्धान्त र हित विपरीत हुनेगरी गैर जिम्मेवार पूर्वक एवं अनुशासनहीन कार्य गर्नेछैनौँ ।

पार्टीको जे निर्देशन आउंछ त्यो मान्न तयार रहनेछु भन्ने जवाफ दिएको बताइन् । पार्टीको केन्द्रीय अनुशासन समितिका सदस्य सचिव भक्ति प्रसाद सिटौलाले उनलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन भन्दै भनी पत्र पठाएको थियो । पार्टीको निर्णय विपरीत सरकारमा सहभागी भएको सम्बन्धमा तपाईलाई राप्रपाको विधान २०४८ (संशोधन सहित २०७८) दफा ३० (ड) बमोजिम किन कारबाही र सजाय गर्न नपर्ने हो ?
नपर्ने भए प्रमाण सहित २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न केन्द्रीय अनुशासन समितिको निर्णय अनुसार अनुरोध गर्दछु,’ सिटौलाले पठाएको पत्रमा उल्लेख छ । अध्यक्ष राजेन्द्र लिङ्देनले कात्तिक २४ गते नै मधेश प्रदेश सरकारमा सहभागी भएको बेला सरकारबाट फिर्ता हुन उनलाई निर्देशन दिएको थियो । सो निर्देशनको बेवास्ता गरेपछि स्पष्टीकरण सोधिएको हो । एमालेका सरोज यादवको नेतृत्वमा रातारात गठन भएको विवादित सरकारमा विच्छालाई विनाविभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ ।

