२०८२ कार्तिक २७, बिहीबार ०९:०९
डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका सबै उद्योग प्रतिष्ठानहरुले किस्ताबन्दीमा विद्युत् महसुल बुझाएपछि देशभर लाइन काटिएका उद्योगमा विद्युत् आपूर्ति सुचारु गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले निर्धारण गरेको बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता तिरेका उद्योगहरुमा लाइन वितरण भएको हो ।

बक्यौता नतिरेको भन्दै प्राधिकरणले देशभरका २५ उद्योगमा विद्युत् लाइन बन्द गरेको थियो । लाइन काटिएकामध्ये एभरेस्ट पेपर मिल्स र बुटवल सिमेन्ट उद्योगले भुक्तानी गरेका छैनन् । ती दुवै उद्योग बन्द छन् । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले प्रिमियम बक्यौताका कारण मात्रै कुनै उद्योगको लाइन काटिएको अवस्था नरहेको बताए ।
प्राधिकरणले असोज १२ गते पूर्वसूचना गरेरै २८ किस्तामा बक्यौताका भुक्तानीका लागि २१ दिन समय दिएको थियो । किस्ताबन्दी सुविधामा १४ करोड रुपैयाँभन्दा धेरै बक्यौता रहेको हुलास स्टिलले पहिलो किस्ताबापत ५० लाख ४३ हजार रुपैयाँ बुझाएको थियो । सिमरामा रहेको अशोक स्टिल्सले पनि पहिलो किस्ता ६३ लाख रुपैयाँ भुक्तान गरेको छ ।

