नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।
बिहीबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव रामेश्वर दंगालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई प्रहरी महानिरीक्षकको दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो । सो क्रममा नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीले सुदृढ नेतृत्वका साथ संगठनको मनोबल बढाउँदै जनताको अपेक्षा अनुरुप कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाले पेशागत अनुशासनभित्र रहेर पारदर्शी रुपमा नागरिकप्रति उत्तरदायी भएर काम गर्ने बताउनुभयो । कार्कीले देशमा सुशासन कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन गराउने सरकारको अभिभारा र सुरक्षा चूनौतिको विद्यमानताप्रति आफु पूर्णरुपमा जानकार र सजक रहेको बताउनुभयो ।
जेनजी आन्दोलन लगत्तैको सुरक्षा प्रतिकुलतामा पनि कुनै सुरक्षा रिक्तता हुन नदिई तत्काल नागरिकको सेवामा परिचालित भएको जानकारी गराउँदै उहाँले छोटो समयमा प्रहरीका संरचना र सेवा पुनः स्थापनामा देखिएको सक्रियताले प्रहरीको भूमिका स्पष्ट भएको बताउनुभयो ।
यहि सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
३० वर्षे सेवा अवधि पूरा गरी प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ अनिवार्य अवकाशमा जानुभएपछि सरकारले प्रहरी अतिरिक्त महानिरीक्षकमध्येबाट वरिष्ठतम कार्कीलाई प्रहरी सङ्गठनको प्रमुख बनाएको हो ।

