२०८२ कार्तिक २७, बिहीबार १७:०५

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको असंवैधानिक नियुक्तिको विरोधमा रौतहटको सदरमुकाम गौरमा सातदलीय गठबन्धनले बिहीबार दोस्रो दिन पनि संयुक्त रूपमा विरोध प्रदर्शन गरेको छ।

घण्टाघर नजिक बिपी चौकमा आयोजित विरोध कार्यक्रममा सहभागीहरूले “असंवैधानिक मुख्यमन्त्री राजीनामा दे”, “संविधानको धज्जी उडाउने एमाले मुर्दाबाद” लगायतका नाराबाजी गर्दै शक्ति प्रदर्शन गरेका थिए।



नेताहरूले प्रदेश प्रमुख सुमिन्त्रा भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) को गलत व्याख्या गर्दै एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाएका छन्। उनीहरूले “मध्यराति होटेलमा शपथग्रहण गराउने जस्ता कार्यहरूले लोकतन्त्रको अपमान गरेको” भन्दै उक्त निर्णय तुरुन्त खारेज गर्न माग गरे।

प्रदर्शनमा नेपाली कांग्रेस रौतहटका जिल्ला सभापति सुनिल यादव, लोसपाका उपाध्यक्ष बाबुलाल साह, सहमहामन्त्री अनिल सिंह, मधेस प्रदेश सचिव ओम लोक पटेल, बामपन्थी नेता रेवन्त झा, नेकपा (माओवादी केन्द्र) गौर नगर अध्यक्ष चन्देश्वर राउत, कांग्रेस क्षेत्र नं। १ अध्यक्ष श्रीराम यादव, गौर नगर अध्यक्ष मोहन यादव, जनमत पार्टीका रौतहट इञ्चार्ज शेख जमसैद, जसपाका नेता तथा पूर्व राज्यमन्त्री योगेन्द्र यादव, र गौर नगरकी पूर्व उपप्रमुख किरण ठाकुर लगायतका नेताहरूको उल्लेखनीय उपस्थिति थियो।

संयुक्त वक्तव्यमार्फत नेताहरूले “संविधानको रक्षा र लोकतान्त्रिक मूल्यको सम्मानका लागि सडकदेखि सदनसम्म संघर्ष जारी रहने” चेतावनी दिएका छन्।

सातवटै दलका नेता तथा कार्यकर्ताको ठूलो सहभागितासँगै गौरको घण्टाघर क्षेत्र दुई दिनदेखि राजनीतिक केन्द्रबिन्दु बनेको छ।

Comment


Related News

Latest News

Trending News