२०८२ कार्तिक २८, शुक्रबार १०:५८

कटहरिया नगरपालिकाको फतेपुरस्थित आधारभूत विद्यालयमा तदर्थ समिति गठन सम्बन्धी विवादले स्थानीय वातावरण तनाबपूर्ण बनेको छ। मेयर अजय प्रकाश जैसवालको निर्देशनमा ‘अभिभावक नै नभएको व्यक्तिलाई’ अध्यक्ष बनाएर तदर्थ समिति गठन गरिएको भन्दै आक्रोसित अभिभावक र स्थानीयले बिहीबार विद्यालयमा तालाबन्दी गरेका छन्।

नगर शिक्षा समितिको बैठकका आधारमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनरेश यादवको हस्ताक्षर रहेको निर्णयपत्र लिएर अध्यक्ष तोकिएका उमेश कुमार सहनी सहितको टोली विद्यालय पुगेपछि विवाद चर्किएको हो। सहनीको अध्यक्षतामा बनाइएको ४ सदस्यीय समितिमा सुनिल कुमार महतो, चुलहाई महरा चमार र अञ्जु कुमारी साह सदस्य छन्।



तर वडा ६ का अध्यक्ष जयराम चौधरी, अभिभावक तथा युवासमाजका प्रतिनिधि अन्जित कुशवाहा लगायत स्थानीयले ‘मेयरको मनपरी’ भन्दै विद्यालय परिसरमै आकस्मिक छलफल गरेका थिए। उनीहरूले दर्ता पुस्तिका खोसेर प्रधानाध्यापक पवन चौधरीलाई कक्षाबाहिर निकाल्दै कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

अभिभावक तथा वडा अध्यक्ष चौधरीबीच सहमति अनुसार शनिबार विद्यालयमै स्थानीय जनप्रतिनिधि, अभिभावक, राजनीतिक दलका प्रतिनिधि तथा भद्रभलादमीको सर्वपक्षीय भेला बस्ने तय भएको छ। त्यहीँबाट ‘सहमति आधारित’ नयाँ तदर्थ समिति गठन गर्ने तयारी भएको कुशवाहाले जानकारी दिए।

वडा अध्यक्ष जयराम चौधरीले “आफ्नै वडाको विद्यालयमा अभिभावक र जनप्रतिनिधिलाई जानकारी नै नदिई मेयरले आफूखुसी समिति थोपर्न खोजेको निर्णय स्वीकार्य हुँदैन,” भन्दै आपत्ति जनाए।

कटहरिया नगरपालिकाका दैनिक ज्यालादारी र करार कर्मचारीको तलब मागसहितको तालाबन्दी २४ गते मात्र खुला भएको थियो। यता वडा अध्यक्ष चौधरी भने “तालाबन्दी भइरहँदा २० गते नगर शिक्षा समितिको बैठक कहाँ र कसरी बस्योरु २१ गते नै पत्र कसरी तयार भयोरु” भन्दै प्रश्न उठाएका छन्।

नगर शिक्षा संयोजक सुरेन्द्र ठाकुरले संघीय शिक्षा ऐन नआएकाले पुरानै प्रावधानअनुसार ६ महिनाका लागि तदर्थ समिति बनाइएको बताउँदै, “तालाबन्दीका कारण बैठक अन्यत्र बस्न सक्छ। भोलिको अभिभावक भेलामा सहभागी भई सबै पक्षले स्वीकार गर्ने समाधान निकालिन्छ,” भन्दै प्रतिवद्धता जनाएका छन्।

फतेपुर विद्यालयमा तदर्थ समिति विवाद बढ्दै गएपछि अब ध्यान भोलिको सर्वपक्षीय भेलाले निकालेको निर्णयतर्फ केन्द्रित भएको छ।
कटहरिया नगरपालिकामा नेपाली कांग्रेसको टिकटमा अजय प्रकाश जैसवाल मेयर पदमा निर्वाचित भए देखिनै नगरको शिक्षालाई भाँडभैलो बनाएका छन्। मनपरी तरिकाले विद्यालयहरुमा प्रधानाध्यापक नियुक्ति देखी सरुवा गर्नुका साथै बिद्यालय तदर्थ समिति गठन, असक्षमहरुलाई शिक्षकको रूपमा भर्ना गर्दै आएको स्थानिय जनप्रतिनिधिहरुले गुनासो गर्दै आएका छन्। उता मेयर जैसवालले सबै आरोपको खण्डन गर्दै आफूले नियमसंगत काम गरिरहेको तर्क राखेका छन्।

Comment


Related News

Latest News

Trending News