मधेश प्रदेशसभाका पाँचजना सांसदहरूले आफ्नो हाजिरी विवरण सार्वजनिक गर्न प्रदेशसभा सचिवालयसँग माग गरेका छन् ।
सभामुख रामचन्द्र मण्डलले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि हिजो लगातार १० वटा बैठकमा नआएको भन्दै ५ जना सांसदलाई पदमुक्त गरेका थिए । तर, उपसभामुख बबिताकुमारी राउतले त्यो निर्णय बदर गर्दै अर्को सूचना जारी गरेकी छन् ।

यद्यपि, कारबाहीमा परेको जसपाका सांसदहरू मनिष कुमार सुमन, सञ्जय कुमार यादव, सिंहासन सा कलवार, सारदा संकर प्रसाद कलवार र नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला देवी सिंहले प्रदेशसभासँग आज विवरण माग्दै निवेदन दिएका हुन्।
निवेदनमा भनिएको छ, ‘सामाजिक सञ्जालमार्फत १० पटकको निरन्तर अनुपस्थितिको आधारमा कारबाही भएको जानकारी आजै मात्र प्राप्त भएको हुँदा सत्य तथ्य पुष्टि गर्न आधिकारिक हाजिरी र अभिलेख उपलब्ध गराउन सचिवालयसँग अनुरोध गर्दछौँ ।’
उनीहरूले आफूहरूलाई कसको निर्णयले कारबाही गरिएको ? भन्दै निर्णयलगायतको सबै कागजातको प्रमाणित नक्कल पनि माग गरेका छन् ।


