मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशमा पछिल्लो समय उत्पन्न भइरहेको राजनीतिक अस्थिरता, आरोप–प्रत्यारोप र अविश्वासपूर्ण वातावरणले सामाजिक, राजनीतिक, प्रशासनिक तथा विकासका गतिविधिमा गम्भीर असर पारेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले नेपालको लोकतान्त्रिक गणतन्त्रको संवर्धन, समृद्ध समाज र सुशासनयुक्त राज्य निर्माणका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।

विज्ञप्तिमा प्रदेश प्रमुख कर्णले नेपालले कठिन संघर्ष, त्याग र सहमतिबाट प्राप्त गरेको संविधानले दिएको मूल्य, मान्यता र अधिकारलाई मजबुत बनाउन सबै नागरिक, राजनीतिक दल, नेतागण, राज्य संयन्त्र र सरोकारवालाको महत्वपूर्ण भूमिका रहेको बताए। तर पछिल्लो समय मधेश प्रदेशमा उत्पन्न राजनीतिक विवाद, अविश्वास, अशंका र असहमतिले सामान्य जनजीवनदेखि विकास योजनासम्म प्रभावित भएको उल्लेख गर्दै उनले यस्तो वातावरणले मधेश प्रदेश मात्र होइन, समग्र राष्ट्रकै राजनीतिक संस्कृतिलाई कमजोर बनाउने खतरा रहेको चेतावनी दिए।
उनले २०७२ सालमा जारी संविधानले मार्गदर्शन गरेको सहकार्य, सहअस्तित्व र समावेशिताको भावना राज्य संचालनको मूल आधार रहेको स्मरण गराउँदै प्रदेश–राज्यबीच सहकारिता र विश्वासको वातावरण निर्माण गर्नु समयको माग भएको बताए। “राजनीतिक अस्थिरता र अव्यवस्था अघि बढ्ने मार्ग होइन। राष्ट्रको हित र प्रदेशको विकासलाई केन्द्रमा राखेर सबै पक्षले जिम्मेवारीका साथ अघि बढ्न जरुरी छ,” विज्ञप्तिमा उल्लेख छ।
प्रदेश प्रमुख कर्णले संघीय शासन प्रणाली सफल बनाउन नागरिकको सक्रिय सहभागिता, सरकारी संयन्त्रको उत्तरदायित्वपूर्ण भूमिका र सबै दलको जिम्मेवार राजनीतिक व्यवहार आवश्यक रहेको बताए। अहिले उत्पन्न राजनीतिक परिस्थितिले प्रदेशमा सुशासन, सुरक्षा, सेवा प्रवाह तथा जनअपेक्षा सम्बोधनमा अवरोध ल्याइरहेको भन्दै उनले सबैलाई संविधान र कानुनको शासनअनुसार सहकार्य र संयमित भूमिकामा फर्किन आग्रह गरे।
उनले प्रदेशको सामाजिक सद्भाव, सहनशीलता, साझा पहिचान र सहअस्तित्वको संस्कृतिलाई जोगाइ राख्न राजनीतिक दल, पदाधिकारी, जनप्रतिनिधि, नागरिक समाज, सञ्चार क्षेत्र, बौद्धिक वर्ग, कर्मचारी तथा सुरक्षाकर्मी सबैलाई संयम, जिम्मेवारी र सत्यनैतिक आचरण अपनाउन अपिल गरे।
“सुदृढ, सुरक्षित, सुशासनयुक्त र समृद्ध मधेश प्रदेश निर्माण हाम्रो साझा लक्ष्य हो। यसका लागि राजनीतिक स्थिरता, आपसी विश्वास र सकारात्मक संवाद अपरिहार्य छन्,” प्रदेश प्रमुख कर्णको अपिलमा उल्लेख छ।
उनले प्रदेश र देशका हित माथि व्यक्तिगत वा दलगत स्वार्थ भन्दा माथि उठेर काम गर्न, समृद्धि र सुशासनतर्फ अघि बढ्ने मार्ग प्रशस्त गर्न सबै सरोकारवालालाई सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।


