सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकालाई चार प्रकारमा वर्गीकरण गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले प्रदर्शनका क्रममा घाइते भएकाको वर्गीकरण गर्न गठित प्राविधिक समितिले घाइतेलाई अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार वर्गमा विभाजन गरेको जानकारी दिनुभयाे ।

सरकारले मन्त्रालयका गुणस्तर, मापन तथा नियमन विभागका प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा १० सदस्यीय प्राविधिक समिति गठन गरेको थियो । घाइतेमध्ये चोटपटकका आधारमा वर्गीकरण गरिएको छ । जसमा अति गम्भीरलाई २३, गम्भीरलाई २१, मध्यम घाइतेलाई २३ र सामान्य घाइतेलाई ११ प्रकारका चोटपटक लागेका आधारमा छुट्याइएको मन्त्रालयले जनाएको छ ।
वर्गीकरण अनुसार घाइतेलाई परिचयपत्र उपलब्ध गराइनेछ । सरकारले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरणको काम सक्न निर्देशन दिइसकेको छ ।
गएको भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा दुई हजार पाँच सय ७२ जना घाइते भएको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिनुभयो । तीमध्ये ११ जना अस्पतालमा उपचाररत छन् ।

