२०८२ कार्तिक २९, शनिबार ०७:१५

बाल्यकालमा एउटा कथा सुनेको थिए– एका देशमा एउटा राजा थिए । देवी देवताको पूजा अराधनापछि बुढेसकालमा बल्ल एउटा छोरा पाएका थिए । भनिन्छ, बुढेसकालमा जन्मेकाको सन्तानमाथि धेरै माया हुन्छ । राजकुमारलाई राजा रानी औँधि माया गर्थे । आमाबुबाको माया पाएर राजकुमार जिद्दी भए ।

मागेको र खोजेको चिजबीज तथा खेलौना नपाएपछि उत्पात मचाउँथे । उनको उत्पात देखेर राजा रानीलाई खुसी हुन्थे । एकाविहान राजकुमारलाई सनक चलेछ । उ रोइकराइ गर्न थाले– ‘मलाई हात्ती चाहिन्छ ….।’ रानी खेलौनाको डालोबाट हात्ती झिकेर दिइन्, तर राजकुमार खुसी भएनन् । झन् ठुलो स्वरमा चित्याउन थाले । रानी नानाप्रकारका हात्तीका खेलौना देखाउँदै मनाउँन थालीन् । उनको जिद्द झन्झन् बढ्दै गयो । अन्तमा राजकुमार राजाको हतिसारतर्फ इसारा गर्दै भने छन्– ‘ मलाई त्यो ठुलो हात्ती चाहियो ।’ रानीको लागि हात्ती ठुलो कुरा थिएन । माउतेलाई आदेश दिइछन्– ‘लु राजकुमारलाई त्यो हात्तीमा बसाएर सयर गराउ ।’ राजकुमारलाई हतिसारमा लगियो । मकुनो हात्तीमाथि हौदा सजाइयो अनि राजकुमारलाई आशीन गराइयो । तर उ झन् कराउँन थाले ।

राजकुमारको रोइ–कराइ सुनेर राजा पनि बाहिर निस्किए । माउतेलाई हप्काउँदै भने– ‘राजकुमारलाई किन रुवाएको सोध त उनलाई के चाहिन्छ ? अनि राजकुमारको अर्को डिमाण्ड आयो– ‘मलाई झोला चाहिन्छ ।’ माउते तुरुन्तै झोला ल्याएर दिए छन् । झोला पाउने बित्तिकै राजकुमार भक्कानो पारेर रुन थाले । राजा वाक्कदिक्क भएर सोधे छन्– ‘अब तिमीलाई के चाहियो ? राजकुमारको जवाफ थियो– ‘त्यो हात्तीलाई यो झोलामा कसेर देउ ।’ राजा, रानी र माउते जिल्ल परेछन् । मौन भए छन् । मधेश प्रदेशमा पछिल्लो पटक मञ्चन हुन थालेको संविधान, नियम, नीति र नैतिकताविहीन नाटक मलाई बाल्यकालमा सुनेको बालमनोविज्ञानसंग सम्बन्धित यो कथाको याद ताजा गरायो ।

आज म सम्झिदै छु,–राजकुमार त बालक थिए । राजाका प्यारो छोरा भएकोले सनकी थिए । उनमा बालपन थियो र बालमनोविज्ञान अनुसार हात्तीलाई सानो झोलामा बन्द गर्न जिद्दी गर्दै थिए । मधेश प्रदेशका नेता तथा उनीहरुलाई माथिबाट निर्देशन दिने उपल्ला नेताहरु त देश दुनिया खाइ–पचाइसकेका प्रौढहरु छन् । अनि उनीहरुको चरित्रमा बालपन किन देखिएको होला ??

संघीयताको धरतीमा संघीयता कमजोर त हुन गइ रहेको छैन ??कार्तिक २२ गते आइतबार निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनल सदनमा विश्वाशको मत लिइ रहँदा आफ्नै पार्टीबाट पछाडिएका तथा छुट्टै पार्टीको अस्तित्व गुमाएका जनस्वराज पार्टीका पूर्वमुख्यमन्त्री सतीशकुमार सिंह र त्रिभुवन साह आफ्नो मोबाइलसमेतको स्वीच अफ गरेर मतदान प्रक्रियाबाट अलग बस्नुको औचित्य बुझ्न सकिन्छ । तर मधेश प्रदेशको सत्तागठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका प्रदेश सांसदद्वय रहबर अन्सारी र माला कुमारी कर्णले मतदान प्रक्रियामा भाग नलिनुको अर्थ बुझ्न गाह«ो भयो ।

प्रदेशसभामा रहेका कुनै पनि सांसदसंग मुख्यमन्त्री बन्ने नैतिक आधार नभएको उद्घोष गर्दै आफ्नै अनुहारमा कालो मोसो दलेका रहबर अन्सारी आफैँ राजीनामा दिए हुन्थ्यिो । तर उनले मतदान प्रक्रियाबाट अलग भएर एमालेलाई नेपालको संविधान १६८ को ३ अनुसार सरकार बनाउने बाटो खोली दिए । सरसर्ती हेर्दा माओवादी केन्द्रका दुई प्रदेश सांसदको सनकवा जिद्द झोलामा हात्ती कस्ने राजकुमार जस्तै देखिए पनि उनीहरुको उद्देश्य भने धेरै ठूलो थियो ।

एमालेको कोटामा प्रदेश प्रमुख नियुक्त सुमित्रा सुवेदी भण्डारी र एमालेबाट सभामुख निर्वाचित रामचन्द्र मण्डलले एमाले संसददीय दलका नेता सरोजकुमार यादवलाई नियुक्त गर्न ल्याकतले भ्याएसम्म जोडबल गर्नुलाई अनुचित मान्न नसकिएला, तर प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी विरामीको बहाना बनाएर राति आवासबाट निस्किनु, सिन्धुली, महोत्तरी र धनुषाको सीमा नजिक बर्दीवासको एक होटलमा रातारात मुख्यमन्त्री नियुक्त गरिएको पत्र दिनु र शपथ ग्रहणसमेत गराउनु नीति र नैतिकता विरुद्धको नाटकमात्र नभइ, बालक राजकुमारले देखाएको सनक जस्तै हो ।

सूर्य पनि निदाइ रहेको बेला निर्जन जंगलमा अवस्थित होटलमा आफ्नै पार्टीसमेतका मुख्य सचेतकलाई जानकारी नगराइ कुनै मुख्यमन्त्रीले शपथ लिएको सम्भवतः यो पहिलो घटना होला । मधेश भवनमा अवस्थित मुख्यमन्त्री कार्यालयलाई घेराउ गरी बसेका सात दलका नेता तथा कार्यकर्ताहरुमाथि लाठी चार्ज गरेर भए पनि मुख्यमन्त्रीलाई पदस्थापन गराउन सफल स्थानीय प्रशासन मुख्यमन्त्रीको शपथ ग्रहण प्रदेश राजधानी जनकपुरमा पनि गराउन सक्थे ।

बालमनोविज्ञान प्रदर्शन गरेका प्रदेश प्रमुख सुमित्रा सुवेदीलाई पदच्यूत गरेर नेपाल सरकारले तुरुन्तै कारबाही गरेको छ । अधिवक्ता रवि साहले दर्ता गराएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सम्मानित सर्वोच्च अदालतले अन्तिम फैसला नआएसम्म मुख्यमन्त्री सरोजकुमार यादवलाई मधेश प्रदेशलाई दूरगामी प्रभाव पर्ने कुनै पनि प्रकारको कामकाज गर्न रोक लगाएको छ । मधेश प्रदेशका ७४ जना सांसदले दर्ता गराएको रिट निवेदनमाथि आइतबार सुनुवाइ हुँदै छ । अर्थात् मधेश प्रदेशसभाको विषय न्यायालय पुगेको छ ।

न्यायालयको फैसला सबैले मान्नुपर्ने बाध्यता हो । यस परिस्थितिमा सात दल सम्बद्ध नेता तथा कार्यकर्ताहरु मुख्यमन्त्रीलाई हटाउनु पर्ने माग गर्ने नाममा सार्वजनिक सम्पतिमा तोडफोड गर्नु, नेपालको झण्डाको अपमान गर्नु र कर्मचारीमाथि हातपातगर्नु,उहि बाल राजकुमारले प्रदर्शन गरेको बाललीला हो भन्दा फरक नपर्ला ।

मधेश प्रदेशसभामा मञ्चन भएको पछिल्ला बाल नाटक भने बेजोड छ । यस नाटकमा बालबालिकाहरुले समेत प्रदर्शन गर्न नसक्ने ‘मूढ्ता’ छ । गजबको पटकथा छ । भौतिक ‘द्वन्द्व’ छ अनि सटिक वार्तालाप छ । सातदल सम्बद्ध ६४ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय पुगेका नेता तथा कार्यकर्ताहरुमाथि हातपात भएको आरोप छ ।

अर्कोतर्फ महाभियोग दर्ता भएको केही मिनेट भित्रै सभामुख रामचन्द्र मण्डलले प्रदेश सांसदहरु उर्मिला देवी सिंह, मनिषकुमार सुमन, संजयकुमार यादव, सिंहाशन साँ कलवार र शारदाशंकर प्रसाद साहलाई निलम्बन गरेको सूचना निकाल्नु भयो । यी पाँचजना सांसद नेपालको संविधानको धारा १८०(घ) बमोजिम प्रदेशसभाको बैठकमा लगातार १० पटक अनुपस्तित रहेको उल्लेख गर्दै उनीहरुलाई कार्तिक २७ गतेदेखि प्रदेशसभाबाट पदमुक्त भएको उल्लेख छ ।

यस बाल नाटकको द्वन्द्व भने चाख लाग्दो छ । आफूमाथि महाभियोग लागेका सभामुख पाँचजना सांसदलाई पद मुक्त गरेको सूचना प्रकाशित भएको केही घन्टाभित्रै उपसभामुख बबिता कुमारी राउत इसरको अर्को सूचना सार्वजनिक हुन्छ । जसमा ‘ मधेश प्रदेशसभाको मिति २०८२ कार्तिक २२ गतेको विश्वासको मत सम्बन्धी प्रस्तावको बैठकमा उक्त सूचनामा उल्लेख भएका सम्पूर्ण माननीयहरु उपस्थित रहेको हाजिरी तथा भिडियो रेकर्डबाट देखिएकोले सो पद रिक्त सम्बन्धी सूचना बदर गरिएको बेहोरा सम्बन्धित सम्पूर्ण सरोकारबालामा जानकारी गराइन्छ ।’ उल्लेख छ ।

भनिन्छ, राजनीति र प्रेममा सबथोक जायज हुन्छ, तर मधेश प्रदेशले अर्कै भाष्य बनाएको छ । त्यो के हो भन्ने– राजनीतिमा बालहठ पनि सम्भव छ । जहाँ हात्तीलाई सानो झोलामा कैद गर्न जिद्दी गर्न सकिन्छ र यस सनकलाई पार्टीका कार्यकर्तादेखि उपल्ला नेताहरुले समर्थन गर्नु पर्दछ ।

Comment


Related News

Latest News

Trending News