नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने भएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको नवगठित नेपाली कम्युनिष्ट पार्टीको उपलब्ध पूर्व पदाधिकारीहरुको बैठकले मंसिर ९ गतेदेखि प्रदेश, जिल्ला र पालिका तहमा एकता सन्देश सभा गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले जानकारी दिनुभयो ।
उहाले पार्टी एकताको सन्देश प्रवाह गर्नका लागि अपिल प्रकाशित गर्ने पनि निर्णय भएको जानकारी दिनुभयो । त्यस्तै एकताको सन्दर्भमा विशेष अन्तर पार्टी निर्देशन जारी गर्दै पार्टीलाई एकढिक्का बनाउने निर्णय भएको उहाले बताउनुभयो ।
अन्तर पार्टी निर्देशन जारी गर्दा एकता सन्देश कार्यक्रमको मोडालिटी समेत उल्लेख गरिने जानकारी दिदै खनालले एकता सन्देश सभाको व्यानरमा कार्यक्रम गरिने उल्लेख गर्नुभयो । आफुहरुको एकता कसैको बिरुद्ध नभइ आम जनतालाई जागृत र संगठीत गर्दैै समाजवादको बाटोको अर्जुनदृष्टिका साथ अघि बढ्ने यात्रा भएको उहाले बताउनुभयो ।
खनालले अशोक राई र उपेन्द्र यादवको पाटीसँग कुराकानी भइरहेको भन्दै केहि अवधिभित्र एकीकृत हुने विश्वास व्यक्त गर्नुभयो । उहाले आफूहरुले बनाएको पार्टी सबै पुस्ताको पार्टी भएको भएकाले बुढाहरुको पाटी भन्न नमिल्ने धारणा राख्नुभयो ।

