धनुषाको मिथिला बिहारी नगरपालिकामा आइतबारदेखि सर्प महोत्सव शुरु भएको छ ।
मिथिला बिहारी नगरपालिका–२ स्थित कल्चर भिलेजमा तेस्रो संस्करणको सर्प महोत्सवको उद्घाटन सर्पदंश उपचारविद् डा. छविलाल थापाले गरेका थिए । मिथिला वाइल्ड लाइफ ट्रष्ट र सेभ द लाइफको संयुक्त आयोजनामा भएको महोत्सवको मिथिला बिहारी नगरपालिका वडा नम्बर २ का सुरेश मण्डल र ३ नम्बरका कृष्णकुमार बसन्तको संयुक्त अध्यक्षता गरेका थिए ।
सर्पको महत्व बुझौं, सहअस्तित्वलाई सम्मान गरौँ, संरक्षणमार्फत भविष्य सुरक्षित गरौँ’ भन्ने मूल नारा दिएर शुरु भएको महोत्सव कार्तिक ३० र मंसिर १ गतेसम्म चल्ने आयोजना संस्थाले जानकारी दिएको छ ।
आयोजक संस्थाका अध्यक्ष देवनारायण मण्डलले सर्पको महत्वबारे नागरिकमा चेतना फैलाउन महोत्सवको आयोजना गरिएको बताए । महोत्सवले सर्प र पर्यावरण तथा वातावरणबीचको सम्बन्ध, जैविक विविधता संरक्षणमा सर्पको भूमिका, सर्प र मानवबीच द्वन्द्व न्यनीकरण, सर्पको पर्यावरणीय, चिकित्सकीय, धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्ने उहाँले जानकारी दिए । उनले भने, ‘सर्पलाई अझै पनि अन्धविश्वास र डरको प्रतीकका रूपमा हेरिने हुँदा सर्प संरक्षण चुनौती बनेको छ ।
सर्प केवल डस्ने जीव होइन, यो वातावरण सन्तुलन राख्ने अभिन्न अंग हो ।’ अध्यक्ष मण्डलका अनुसार महोत्सवमा सर्पको जीवनचक्र, विषका प्रकार, सर्पदंशपछिको उपचार प्रक्रिया, तथा उद्धारसम्बन्धी व्यावहारिक जानकारी दिने व्यवस्था मिलाइएको छ । त्यस्तै, सर्प संरक्षणसम्बन्धी चित्र प्रदर्शनी, जीवित सर्प प्रदर्शनीमा राखिएको अध्यक्ष मण्डलले बताए ।
यस सर्प महोत्सवको उद्घाटनसत्रमा विभिन्न विद्यालयका विद्यार्थीहरुले सामूहिक रुपमा अवलोकन तथा सर्पबारे विभिन्न खाले क्रियाकलापसमेत गरेका थिए । सो अवसरमा बालविद्यार्थीहरुले विभिन्न किसिमका रचनात्मक सर्पअंकित तस्वीरहरु आ–आफ् ना गाला तथा हातहरुमा बनाएका थिए ।


