२०८२ मंसिर १, सोमबार १५:२७

बङ्गलादेशको अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ ।

बङ्गलादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्युनल (आईसीटी) ले आज हसिनासहित उनको मन्त्रिपरिषद्मा आन्तरिक मामिलामन्त्री असदुज्जमान खान कमल र तत्कालीन प्रहरी प्रमुख चौधरी अबुल्लाह अल–मामुनलाई गएको वर्षको घटनामा दोषी ठहर गरेको बीबीसीले जनाएको छ । भारतमा निर्वासनमा रहेकी हसिनाको अनुपस्थितिमै यो मुद्दा चलाइएको थियो ।

गएको जुलाई–अगस्टमा भएको विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनमा एक हजार चार सय जनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले अनुमान गरेको छ जसमध्ये धेरैजसो सुरक्षा बलको गोलीबाट मारिएका थिए ।

यो प्रदर्शनमा हिंसात्मक दमनको आदेश दिन हसिना जिम्मेवार रहेको अदालतले ठहर गरेको छ । हसिनाले आफूविरुद्धका सबै आरोप अस्वीकार गर्दै आएकी छिन् ।

यही प्रदर्शनका कारण हसिनाले सत्ता छाड्नुपरेको थियो र त्यसबेलादेखि उनी भारतमा निर्वासनमा बस्दै आएकी छिन् ।

बङ्गलादेश टेलिभिजनले मुख्य न्यायाधीश गुलाम मुर्तजाको अध्यक्षतामा रहेको तीन सदस्यीय बेन्चबाट फैसला प्रत्यक्ष प्रसारण गरेको थियो । बेन्चका अन्य दुई सदस्यमा न्यायाधीश मोहम्मद सोफिउल आलम महमुद र न्यायाधीश मोहम्मद मोहितुल हक इनाम चौधरी रहनुभएको थियो ।

फैसलाअघि अदालत परिसर तथा वरिपरि उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाइएको थियो ।

आईसीटी ले पाँच वटा अभियोगमा अभियुक्तहरूलाई दोषी ठहर गरेको छ । जसमा ढाकामा प्रदर्शनकारीहरूको सामूहिक हत्या, भीडमाथि गोली चलाउन ड्रोन र हेलिकप्टर प्रयोग, विद्यार्थी कार्यकर्ता अबु सैयदको हत्या, आशुलियामा शव जलाएर प्रमाण नष्ट गर्ने र चन्खरपुलमा विद्यार्थीहरूको हत्या समावेश छन् ।

मुद्दाको औपचारिक कागजात आठ हजार सात सय ४७ पृष्ठका रहेका छन् जसमा सन्दर्भहरू, जफत सामग्री तथा पीडितहरूको विस्तृत विवरण समावेश छ ।

Comment


Related News

Latest News

Trending News