आन्दोलनमा उत्रिएका उखु किसानसंग चार बुँदे सहमति भएको छ । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा बेचेको उखुको पैसा माग्दै धर्नामा बसेका उखु किसान र उद्योगीबीच विभिन्न चार बुँदे सहमति भएको छ ।
मलंगवामा जिल्ला प्रशासन कार्यालय सर्लाहीमा भएको छलफलमा चालु आर्थिक वर्षमा उखुको क्रसिङ गर्दा हुने प्रदुषण नियन्त्रण गर्न उपाय अपनाउने, गत वर्ष मिलले चिनीको मूल्य निर्धारण भएपछि बाँकी रहेको पैसा किसानलाई दिने, यसअघिका उद्योगपति राकेशकुमार अग्रवालले जानकारी दिँदै बाँकी बक्यौता रहेको उखु किसानको भुक्तानी एक महिनाभित्र गर्ने र उखु मिललाई सञ्चालनका लागि सबै मिलेर सहज वातावरण बनाउने सहमति भएको छ ।
प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षतामा छलफल गरेर सहमति गरिएको छ । उक्त छलफलमा उद्योगपति शैलेन्द्र गुप्तासमेतको उपस्थितिमा भएको सहमतिको क्रममा अगुवा उखु किसान रामआधार रायले आफूहरु उखुको बक्यौता रकम पाउने आशमा रहेको र तत्काल अब धर्नासहितका आन्दोलनको कार्यक्रम स्थगित गरिएको बताए ।


