कृषि प्रयोजनका लागि सर्लाहीको विभिन्न स्थानमा जडान गरिएको ट्रान्सफर्मर चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । उक्त समूहमा रहेका नौजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको बागमती, रानीगञ्ज, चन्द्रनगरलगायत स्थानमा लगातार १७ वटा ट्रान्सफर्मर चोरी गर्ने व्यक्तिहरुको पहिचान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।
पक्राउ पर्नेमा इलामको माइजोगमाइ गाउँपालिका–४ का २८ वर्षीय दुर्गा अधिकारी, सिन्धुपाल्चोकको पाखर गाउँपालिका–१ का ४२ वर्षीय सोनाम लामा, महोत्तरीको बर्दिवास नगरपालिका–३ का ५३ वर्षीय बुधे माझी, पर्साको वीरगञ्ज महानगरपालिका–१६ का ३३ वर्षीय दिलीपकुमार ओझा र बाराको जितपुर सिमरा उपमहानगरपालिका–६ का ३९ वर्षीय कृष्ण श्रीवास्तव रहेका छन् ।
त्यस्तै भारतीय नागरिकहरु ५० वर्षीय सुखाडी सहनी, २० वर्षीय सरोजकुमार सहनी, ५५ वर्षीय मो.रयाजुल र ३५ वर्षीय संजित पदार्थसमेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाही प्रहरीले मलंगवामा पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरुको साथबाट चोरी गरिएको विद्युत ट्रान्सफर्मरको तार १०३.८ केजी, चोरीमा प्रयोग गरिएको औजार ५१ थान र चोरीमा प्रयोग गरिएको दुई थान इ–रि क्सासमेत बरामद गरिएको उनले बताए । सर्लाही जिल्लामा विद्युतका ट्रान्सफर्मर चोरी भएपछि प्रहरीको विशेष टोली ‘ अप्रेसन चार्ली’ बनाएर चोरीमा संलग्न व्यक्तिहरुलाई महोत्तरी, बारा, पर्सालगायत ठाउँबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक खड्काले बताए ।
ट्रान्सफर्मर चोरीको घटनाले सर्लाही जिल्लामा कृषक र प्रहरी दुवै हैरान थिए । सर्लाही प्रहरीले जनाए अनुसार पक्राउ परेकामध्ये सिन्धुपाल्चोकका सोनाम लामाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा विभिन्न जिल्लामा चारवटा मुद्दा चलेको र महोत्तरीका बुधे माझीविरुद्ध कर्तव्य ज्यान एक, डाँका एक र अभद्र व्यवहारमा दुईवटा मुद्दा चलेको थियो ।
भारतीय नागरिक सुखाडी सहनीले इलामका दुर्गा अधिकारी, सिन्धुपाल्चोकका सोनाम र महोत्तरीका बुधेसँग मिलेर एकान्त ठाउँमा रहेका ट्रान्सफर्मरहरुबारे सूचना संकलन गर्ने गरेको पाइएको छ । त्यसपछि भारतीय नागरिकसंग समेत मिलेर ट्रान्सफर्मरका तार वीरगञ्जमा रहेका कवाड पसलमा लगेर बिक्री गर्ने गरेको पाइएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले बताए ।
त्यस्तै पक्राउ परेकामध्ये बाराको जितपुर सिमरा उपमहानगरपालिका–६ का ३९ वर्षीय कृष्ण श्रीवास्तवको आफ्नै गढिमाई मेटल प्रा.लि. रहेको र त्यहाँ चोरी गरिएको ट्रान्सफर्मरको तामा पगालेर भाडाहरु बनाइ बेच्ने गरेकोसमेत पाइएको प्रहरीले जनाएको छ । सर्लाही प्रहरीका प्रहरी नायब उपरीक्षकसमेत रहेका प्रवक्ता सरोज राईले ट्रान्सफर्मर चोरी गर्ने गिरोह नै समातिएकाले अब ट्रान्सफर्मर चोरीका घटना रोकिने अपेक्षा गरिएको छ ।
विद्युत प्राधिकरणका अनुसार ५० के.भी. को ट्रान्सफर्मर चोरी हुँदा चार लाख ५० हजार र १०० के.भी. ट्रान्सफर्मर चोरी हुँदा छ लाख ५० हजार रुपैयाँ बराबरको क्षति हुने गरेको छ । सर्लाहीबाट चोरी भएका अधिकांश कृषि प्रयोजनका ट्रान्सफर्मर १०० के.भी. का रहेका उनले बताए ।
सर्लाहीमा १७ वटा ट्रान्सफर्मर चोरी हुँदा करिव एक करोड १० लाख ५० हजार बराबरको क्षति भएको छ । सिचाइँमा प्रयोग भएको ट्रान्सफर्मर चोरी भएपछि किसानलाई सिचाइँका लागि समस्या हुने गरेको छ ।



