मैथिल सांस्कृतिक परम्परा अनुसार भगवान सीताराम विवाहको तिलक चढाउन एकसय एक पाहुर सहितका एक टोली अयोध्या प्रस्थान गरेका छन् ।
माता सीता र मर्यादा पुरुषोत्तम राम बीचको विवाहको स्मरणमा प्रत्येक वर्ष मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा विवाह पञ्चमी महोत्सव मनाईदै आएको छ । माता सीताको अभिभावकको रुपमा जानकी मन्दिरद्वारा विवाह पञ्चमी महोत्सव सप्ताहव्यापी रुपमा मनाइंदै आएको छ । जनकपुरधामउप–महानगरपालिकाका मेयर मनोजकुमार साह र विश्व हिन्दू परिषद नेपालको अगुवाइमा जानकी मन्दिरबाट तिलक चढाउने टोली पाहुर सहित अयोध्याका लागि शुक्रवार प्रस्थान गरेका छन् ।
शनिबार अयोध्याको कार सेवकपुरममा सो पाहुर हस्तान्तरण तिलकोत्सवका लागि हस्तान्तरण गरिनेछ । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामराशेन दासले उपमहानगरपालिकाका मेयर मनोजकुमार साहलाई अंगवस्त्र र निमन्त्रणा पत्र दिई बिदाई गरेका थिए । त्रेतायुगमा रामले पिनाक धनुष तोडेपछि मिथिला परम्परा अनुसार वरपक्षका घरमा तिलक पठाउने प्रचलन रहेको छ ।
सोही परम्पराअनुसार गत वर्ष विश्व हिन्दू परिषद्का महामन्त्री राजेन्द्रसिंह पंकजको पहलमा तिलक विधिको थालनी गरिएको थियो । यस वर्ष पनि सोही परम्पराको निरन्तरता दिइएको छ ।
१५ सदस्यीय टोलीमा जनकपुरधामका मेयरसहित विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय उपाध्यक्ष रघुनाथ साह, केन्द्रीय सदस्य मनोहर साह, जनकपुरधामका सम्भाग प्रमुख अरविन्दकुमार, वीरेन्द्रकुमार साह, जनकपुर विभाग कार्यवाहक विमलकुमार साह, महोत्तरी जिल्ला कार्यवाहक चन्दन दूवे, जनकपुर सम्भाग प्रचारक लक्ष्मण यादव लगायतका व्यक्तिहरू सहभागी छन् ।



